दुबईका अपार्टमेन्ट बेच्न काठमाडौंमा गैरकानूनी मेला



काठमाडौँ । दुबईका घर बिक्री गर्न नेपालको सोल्टी होटलमा मेला शुरु भएको छ । शनिबारदेखि शुरु भएको मेला आइतबार (आज)सम्म चल्ने ‘बिग पकेट रियल स्टेट’ले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ ।

कम्पनीले निजी लगानीमा बीचसहितको लक्जरियस अपार्टमेन्ट, डाउनटाउन भिउज, क्रिस्टल लगोन्स्लगायत अन्य विभिन्न सुविधा भएको घरहरू बिक्री गर्न मेला आयोजना गरेको हो । कम्पनीले १ करोड ५ लाख रुपैयाँदेखि मूल्य पर्ने घरहरु बिक्रीमा राखेको छ ।

नेपालमा बिगत ४ वर्षदेखि दुबईका रियल स्टेट कम्पनीहरु नेपालका पाँचतारे होटलमा घरजग्गा बिक्री मेला आयोजना गर्दै आएका छन् ।

यसअगाडी दुबईको रियल स्टेट कम्पनी अजिजी डेभलपर र दमास रियल स्टेटले पनि नेपालमा घरजग्गा बिक्री गर्न मेला आयोजना गरेका थिए ।

उक्तमेलामा नेपालमा कुन कम्पनी वा व्यवसायीले घर खरिद गरे भन्ने खुल्न सकेको छैन । हरेक वर्ष दुबईका कम्पनीहरु घर बिक्रीका लागि मार्केटिङ गर्दै नेपाल आउनुले नेपालीले दुबईमा घर किन्ने गरेको आशंक गर्न सकिन्छ ।

नेपाली नागरिकले १ हजार ५ सय अमेरिकी डलरभन्दा धेरै रकम विदेशमा लैजान नपाउने कानूनी व्यवस्था हुुदाँ पनि दुबईका रियलस्टेट कम्पनीहरु नेपालीलाई १ लाख अमेरिकी डलरमूल्यका घर बिक्रीको मेला नेपालमा आयोजना गर्र्दै आएका छन् ।

विदेशी विनियम ऐनले नेपालीलाई विदेशमा लगानी गर्न र घरजग्गा खरिद गर्न रोक लगाएको छ । कानूनले रोकेका गतिविधी गर्न उकास्नेगरि हरेक वर्ष गैरकानूनी मेला आयोजना हुदाँ समेत सरकारी निकाय मौन बसेका छन् ।

राष्ट्र बैंकका सुचना अधिकारी नारायणप्रसाद पोखरेलले नेपालीले विदेशमा घरजग्गा किन्न नपाइने बताउँछन् । तर, पैसाको नियमन गर्ने निकाय नेपाल राष्ट्र बैंकले यस्ता मेलाको आयोजना रोक्न केही गर्न नसकेकोमा कुनै प्रतिक्रिया दिन चाहनन् ।

‘विदेशी कम्पनीले नेपालमा मेला गर्नेमा राष्ट्र बैंकले कुनै विरोध गर्नुपर्ने आवश्यक छैन,’ उनले क्लिकमाण्डू भने । त्यस्तै, विदेशमा रहेका एनआरएनहरू नेपालमा आएर बसेका हुनाले उनीहरूले खरिद गर्न सक्ने भएकाले नेपालमा मेला गरेको पनि हुन् सक्छ । नेपाली नागरिकले भने नीति नियममा स्पष्ट रुपमा उल्लेख गरेको हुनाले दुबईमा घर किन्न चाहेमा स्वीकृति पाउँदैनन् ।’


क्लिकमान्डु