सेयर बजारबाट पैसा कमाउनेको बिपक्षमा प्रचण्ड, अभिव्यक्तिको पुनः रक्षा गरे



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ ले सेयर बजारबाट पैसा कमाउनेको बिपक्षमा अभिव्यक्ति दिएका छन् ।

न्यूज ऐजेन्सीलाई दिएको अन्तर्वार्तामा प्रचण्डले सेयर बजारलाई सकाउनुपर्छ नभनेको र लगानीकर्ताको पक्षमा भएपनि उनले गरेको व्याख्यामलाई सकाउनुपर्छ भनेर नभनेको दाबी गरे ।

‘पूँजीको लगानी उत्पादन मुलक कार्यमा भएन घरजग्गा जस्तो छिटो प्रतिफल आउने क्षेत्रमा भयो, छिटो पैसा त्यहाँबाट आउँछ वा अरु त्यस्ता मुद्राबाट मुद्रा कमाउने । पैसाको लगानी पैसाको लागि गर्ने, उत्पादनको लागि नगर्ने, प्रवृत्ति हाबी भयो,’ प्रचण्डले अन्तर्वार्तामा भने ।


उनले आफूले यसमा सैद्दान्तिक बहस खोजेको र समाजवादीले यस्तो प्रवृत्तितिर योजना बनाउनुपर्ने बोलेको बताए । प्रचण्डले सेयर बजारको बिपक्षमा नरहेको बताएपनि सैद्दान्तिकरुपमा सेयर बजारबाट हुने कमाइको भने बिपक्षमा रहेको कुरा उनको अन्तर्वार्ताबाट प्रष्ट हुन्छ ।

‘हामी समाजवादीले अब कस्तो प्रवृत्तितिर कस्तो योजनातिर सोच्नुपर्छ भनेर गरेको व्याख्यालाई मानौँ नेपालको अहिले भर्खरकै संरचनामाथि हमला गरेको हो भनेको जस्तो गरी बुझियो । प्रचार गरियो । जानिबुझी कतिपयले त्यसलाई तोडमोड गरे । मेरो त्यो होइन । म त अहिले पनि भन्छु, पूँजीवाद अहिले वित्तिय पूँजीवादको रुपमा देखिएको छ । नाफा कमाउनु तिनीहरुको मुल ध्येय छ,’ प्रचण्डले थपे ।

अहिले राष्ट्रिय अर्थतन्त्रको विकास नभएको र अर्थतन्त्रमा दलाली हाबी भएको बताए ।

‘दलाल पूँजीवादको वा त्यस्ता तत्वहरुको जसले खालि बाहिरको सामान ल्याउने र कमिसन खाने खालकाहरुको हातमा नै बढी अर्थतन्त्रको बागडोर छ । त्यसलाई हामीले जनताको हातमा, स्थानीय समुदायको हातमा, हाम्रो सरकारको हातमा, त्यसमार्फत् राष्ट्रिय पूँजीको विकास । यो बाटोबाट गएर मात्रै हामीले समृद्धिको अपेक्षित परिणाम जो खोजेका छौँ, त्यो गर्न सक्छौँ । तर यो सजिलो छैन,’ प्रचण्डले भने ।


क्लिकमान्डु