दैनिक व्यापार घाटा ५ अर्ब, भारतसँग मात्रै २ अर्ब ७७ करोड



काठमाडौं । एक दिनमा नेपालको व्यापारघाटा ४ अर्ब ९० करोड पुगेको छ ।

भारतसँग मात्रै दैनिक २ अर्ब ७७ करोडको व्यापार घाटा भइरहेको छ ।

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको तथ्यांकअनुसार मुलुकको व्यापार घाटा ७ खर्ब ३५ अर्ब ४८ करोडभन्दा धेरै छ । यसलाई दैनिक रुपमा हेर्दा ४ अर्ब ९० करोड हुन्छ ।

नेपालको वैदेशिक व्यापारमा मुख्य व्यापार घाटा भारतसँग छ । पाँच महिनामा नेपालले भारतसँग मात्रै ४ खर्ब १५ अर्ब ८८ करोडभन्दा धेरैको व्यापार घाटा व्यहोर्नुपरेको छ । जुन दैनिक २ अर्ब ७७ करोड हो ।

पाँच महिनामा नेपालले भारतबाट ५ खर्ब ४ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा ८४ अर्ब १५ करोड रुपैयाँको निर्यात गरेको छ ।

भारतपछिको धेरै व्यापार घाटा भएको मुलुक चीन हो । पाँच महिनामा चीनसँग नेपालको व्यापार १ अर्ब २१ अर्ब ८१ करोडभन्दा धेरैले घाटा छ । यस अवधिमा नेपालले १ अर्ब २२ अर्ब १९ करोडको आयात गर्दा ३८ करोड १६ लाखको मात्र निर्यात गर्न सकेको छ ।

गत वर्षको तुलनमा यस वर्ष व्यापार घाटा ५४.७० प्रतिशतले धेरै बढेको छ ।

गत वर्ष २०७७/७८ को पहिलो पाँच महिनामा मुलुकको व्यापार घाटा ४ खर्ब ७५ अर्ब ४४ करोड थियो ।

चालु आवको पहिलो पाँच महिनामा मुलुकको वैदेशिक व्यापार ९ खर्ब ४१ अर्ब ३२ करोडभन्दा धेरै भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ६३.५५ प्रतिशतले धेरै हो । गत वर्षको उक्त अवधिमा मुलुकको वैदेशिक व्यापार ५ खर्ब ७५ अर्ब ५५ करोडको भएको थियो ।

चालु आवको पाँच महिनामा नेपालले ८ खर्ब २८ अर्ब ४० करोडभन्दा धेरैको वस्तु आयात गरेकोमा १ खर्ब २ अर्ब ९२ करोड बराबरको वस्तु निर्यात गरेको छ ।
गत वर्षको तुलनामा यस अवधिमा आयात ५९.५५ प्रतिशतले वृद्धि भएको छ भने निर्यात १०५.६१ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्षको पहिलो पाँच महिनामा मुलुकमा ५ खर्ब २५ अर्ब ४९ करोडको आयात भएकोमा ५० अर्ब ५ करोडभन्दा धेरैको निर्यात भएको थियो ।


क्लिकमान्डु