काठमाडौँ महानगरवासीलाई स्वास्थ्य बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरवासीको स्वास्थ्य बीमाको प्रिमियमा ५० प्रतिशत अनुदान दिने भएको छ ।

महानगरले सम्पत्ति कर तिरेका महानगरवासीलाई सरकारले ल्याएको स्वास्थ्य बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान दिने भएको हो ।

महानगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा नै महानगरवासीका लागि नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा लाग्ने बीमाशुल्कको ५० प्रतिशत बीमाशुल्क बेहोर्ने व्यवस्था गरेको थियो ।

सोही व्यवस्था बमोजिम सम्पत्ति कर बुझाएका महानगरवासीको स्वास्थ्य बीमा प्रिमियमा ५० प्रतिशत अनुदान दिईने महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिए ।

स्वास्थ्य बीमा बोर्डले पाँच जनाको परिवारलाई उएटा युनिट मानेको छ । पाँच जनाको परिवारले स्वास्थ्य बीमामा सहभागिता जनाउनको लागि वार्षिक ३५ सय रुपैयाँ प्रिमियम तिर्नु पर्छ ।

उनका अनुसार महानगरवासीले १७ सय ५० रुपैयाँ मात्रै प्रिमियम तिरे पुग्छ ।

सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम देशभरका ७६ जिल्लामा विस्तार भएको छ । तर, काठमाडौँ जिल्लामा भने कार्यक्रम विस्तार गर्न बाँकी नै छ ।

काठमाडौँ जिल्लामा कार्यक्रम विस्तार भएपछि महानगरले महानगरवासीलाई स्वास्थ्य बीमा गर्दा ५० प्रतिशत अनुदान दिने छ । जसका लागि कार्यविधि नै बनाएर अघि बढ्ने योजना महानगरको छ ।

‘काठमाडौँमा कार्यक्रम विस्तार नै भएको छैन । कार्यक्रम लागु भएपछि स्वास्थ्य बीमा गर्दा लाग्ने प्रिमियमा ५० प्रतिशत अनुदान दिईने छ,’ महानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख हरि बहादुर कुँवरले क्लिकमाण्डूलाई भने, ‘जसका लागि स्वास्थ्य बीमा बोर्डले कार्यविधि बनाउँदै छ,।’

बोर्डले बनाएको कार्यविधिअनुसार महानगरले गरेको उक्त व्यवस्था लागु गरिने उनको भनाइ छ ।

स्वास्थ्य बीमा बोर्डले काठमाडौँ जिल्लामा कार्यक्रम विस्तार गर्नका लागि पहिलो चरणको काम सकिसकेको छ । दर्ता सहयोगी छनौट प्रक्रिया, स्थानीय प्रतिनिधिहरुसँगको छलफल समेत भइसकेको जानकारी बोर्डले दिएको छ ।


क्लिकमान्डु