उद्योग विभागमार्फत ५ महिनामा २९ अर्ब वैदेशिक लगानी प्रतिवद्धता



काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ५ महिनामा २९ अर्ब ८५ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागका अनुसार यस विभागअन्र्तत चालु आर्थिक वर्षको मंसिर १४ गतेसम्म १२० आयोजनाका लागि २९ अर्ब ८५ करोड रुपैयाँ वैदेशिक लागनी प्रतिवद्धता आएको हो ।

जसमा कृषि तथा वन पैदावारमा आधारित ४ वटा, ऊर्जामूलक १, सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित ६, उत्पादनमूलक १९, सेवामूलक ३५ र पर्यटनसँग सम्बन्धित ५५ वटा आयोजनाका लागि वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।

सबैभन्दा बढी वैदेशिक लगानी प्रतिवद्धता सेवा क्षेत्रमा आएको छ । यो क्षेत्रमा १५ अर्ब ९५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।

त्यस्तै सबैभन्दा कम लगानी प्रतिवद्धता भने ऊर्जामूलक आयोजनामा आएको छ । ऊर्जामूलक आयोजनाअन्तर्गत ५ करोड ६० लाख रुपैयाँमात्र वैदेशिक लागानी प्रतिवद्धता आएको छ ।

त्यसैगरी कृषि तथा वन पैदावारजन्य आयोजनाका लागि ६० करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ भने सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित आयोजनातर्फ ४५ करोड, उत्पादनमूलक आयोजनातर्फ ३ अर्ब २४ करोड र पर्यटनसँग सम्बन्धित आयोजनातर्फ ९ अर्ब ५५ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।


क्लिकमान्डु