किन घट्यो डिजिटल भुक्तानी ?



काठमाडौं । पछिल्लो केही महिनादेखि उकालो ग्राफमा रहेको विद्युतीय भुक्तानी कात्तिकमा महिनामा भने ओरालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कात्तिक महिनाको वित्तीय विवरणअनुसार डिजिटल माध्यमबाट भएका अधिकांस भुक्तानी र कारोबार संख्यामा घटेको छ ।

विवरणअुनसार कात्तिक महिनामा क्युआरमा आधारित भुक्तानी, मोबाइल बैंकिङ, वालेट भुक्तानी, आईपीएस, कनेट आइपिएस, इन्टरनेट बैंकिङ, इकमर्श, एटीएम, विभिन्न कार्डबाट हुने कारोबार पनि घटेको छ ।

डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास सापकोटाले सिजनअनुसार डिजिटल भुक्तानीमा थपघट हुने बताए । कात्तिक महिनामा भएको भुक्तानीको कमी सिजिनल भएको उनको भनाइ छ ।

‘दशैं, तिहारपछि कारोबार कम हुँदै जान्छ । यसले गर्दा भुक्तानी कमी आएको हो,’ सापकोटाले क्लिकमाण्डूसँग भने, ‘अरु खासै कारण होइन ।’

दशैंको कारणले असोज महिनामा भुक्तानी बढेको थियो । भदौको तुलनामा असोजमा १८ प्रतिशत बढी भुक्तानी बढी भएको उनले बताए । जसले गर्दा अहिले कात्तिक महिनामा आउँदा घटेको जस्तो देखिएको हो ।

त्यस्तै, कात्तिक महिनामा सरकारी विदा धेरै भएका कारणले पनि डिजिटल भुक्तानीमा प्रभाव परेको उनको भनाइ छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको कात्तिक महिनाको मुलुकको वित्तीय विवरणअनुसार क्युआरमा आधारित भुक्तानी ५ अर्ब ३६ करोड २० लाख रुपैयाँ भएको छ । त्यसअघिको वर्षमा भने यस्तो भुक्तानी ६ अर्ब ९ करोड ७० लाख रुपैयाँ थियो ।

त्यस्तै मोबाइल बैंकिङ पनि घटेको छ । कात्तिक महिनामा ७८ अर्ब १५ करोड ७० लाख रुपैयाँ बराबरको मोबाइल बैंकिङ भएको छ । त्यसअघिको महिनामा भने ८७ अर्ब ७३ करोड २० लाख रुपैयाँ भएको थियो ।

त्यस्तै, मोबाइल वालेटबाट हुने भुक्तानीमा पनि कमी आएको छ । कात्तिक महिनामा १३ अर्ब ९४ करोड ९० लाख रुपैयाँको मोबाइल वालेटबाट भुक्तानी भएकोमा त्यसअघिको महिनामा १५ अर्ब १८ करोड ७० लाख रुपैयाँ बराबरको भुक्तानी भएको थियो ।

आइपीएस, कनेट आइपीएस, इसीसी, एटीएम कारोबार पनि घटेको छ । कात्तिक महिनामा कनेट आइपीएसबाट २ खर्ब ३० करोड ३६ लाखको कारोबार भएकोमा असोज महिनामा २ खर्ब ३९ अर्ब १८ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै, आइपीएसमा असोज महिनामा २ खर्बको कारोबार भएकोमा १ खर्ब ३७ अर्ब कारोबार भएको छ ।

एटीएमबाट हुने भुक्तानीमा पनि कमी आएको छ । असोजमा ७६ अर्ब ५३ करोड एटीएमबाट क्यास झिकिएकोमा कात्तिकमा ६२ अर्ब ८१ करोडमा झरेको छ ।


क्लिकमान्डु