ओली र प्रचण्डको दन्तबजानको मारमा सेयर बजार



काठमाडौं । खड्गप्रसाद शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दन्तबजानको मारमा सेयर बजार परेको छ । एकले अर्कोलाई खुइल्याउन लागिपर्दा बजारमा नकारात्मक प्रभाव परेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक कारोबार हुने साताको अन्तिम दिन ३७.८७ अङ्कले घटेर २ हजार ३७६.७४ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्नेसेन्सेटिभ परिसूचक ५.८३ अंकले ओरालो लागेर ४५३.५३ मा ओर्लेको छ ।

कूल २२४ कम्पनीको ५३ लाख ७९ हजार ८६० कित्ता सेयर ३ अर्ब ३० करोड १७ लाख ५१ हजार ९६८ मूल्यमा खरिद बिक्री भए ।
गत शनिबार माओवादी अध्यक्ष प्रचण्डले सेयर बजारलाई वित्तीय पूँजीवाद र साम्राज्यवादको उपजको रुपमा व्याख्या गरेका थिए । उनको भनाइलाई लिएर सेयर लगानीकर्ताले राम्रै विरोध पनि गरे ।

त्यसो त एमाले अध्यक्ष ओलीले बुधबार आयोजित एक कार्यक्रममा पुनः सेयर बजारको सन्दर्भ जोडेर प्रतिस्पर्धी नेतालाई आलोचना गरे । उनले चन्दा नपाएकाले माओवादी अध्यक्ष प्रचण्डले सेयर बजारको बारेमा विरोध गरेको बताए ।

ओली र प्रचण्डको दन्तबजानमा पर्दा बजारमा बिहिबार पुनः नकारात्मक प्रभाव परेको छ । ओलीको काउण्टरमा बिहिबार पुनः प्रचण्डले आफूले सैद्धान्तिक रुपमा राखेको विषयमा अडिग रहेको बताए ।

उनले सेयर बजारका लगानीकर्ताको पक्षमा रहेको भएपनि ओलीबाट सचेत रहन आह्वान गरे । आफू सेयर बजारमा लाखौं सर्वसाधारण लगानीकर्ताको पक्षमा रहेको बताए ।

ओसली र दाहालको राजनीतिक लडाईको चपेटामा पर्दा बजारमा मनौवैज्ञानिक प्रभाव पर्न गएको देखिन्छ । त्यसो त यस साता बजार उच्च अंकमा घट्ने र पुनः उच्च अंकमा बढ्ने अवस्था पनि देखियो ।

साताको अन्तिम दिन आइपुग्दा नेप्सेसँगै कारोबार रकम समेत ओरालो लाग्यो ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूह मध्ये सामूहिक लगानी कोषको बाहेक अरु सबै उपसमूहको सेयर मूल्यमा गिरावट देखियो । सामूहिक लगानी कोष ०.०८ अंकले मात्रै उकालो लाग्यो ।

यस्तै, बैंकिङ ५.६८, व्यापार ६४.६१, होटल तथा पर्यटन ४६.२१, विकास बैंक १५७.५, जलविद्युत् ८२.४१, वित्त ५६.२३, निर्जीवन बीमा २६४.६१, उत्पादन ८५.३६, अन्य ३९.६३, लघुवित्त ८१.०६, जीवन बीमा २६३.२१ र लगानी १.५३ अंकले ओरालो लाग्यो ।

कारोबारका आधारमा प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ९ करोड ४३ लाख ८६ हजार ७१७ बराबरको कारोबार भयो । नेपाल बंगलादेश बैंक ७ करोड ८ लाख ४३ हजार ३००, समृद्धि फाइनान्स ६ करोड ९५ लाख ७९ हजार , अपि पावर कम्पनी ६ करोड ८७ लाख ३३ हजार ५६६ र नेशनल हाइड्रोपावर ६ करोड ५४ लाख ८५ हजार ६५२ बराबरको कारोबार भई शीर्ष पाँच भित्र परेका छन् ।

नेप्सेका अनुसार नेपाल बंगलादेश बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वाभिमान लघुवित्त ५.३५, माउण्टेन इनर्जी ४.०३, कर्पोरेट डेभलपमेन्ट बैंक ४.०१ र मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा ४ प्रतिशतको वृद्धि भएको छ ।
त्यस्तै, ग्रीन लाइफ हाइड्रो ७.५९, मैलुङ खोला जलविद्युत् कम्पनी ७.५१, हिमालयन पावर पार्टनर ७.०७, नेपाल हाइड्रो डेभलपर ६.३२ र दिव्यश्वरी हाइड्रो पावरको सेयर मूल्यमा ६.११ प्रतिशतको गिरावट आएको छ ।


क्लिकमान्डु