कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी, कसको कति मत ?



काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

नेपाली कांग्रेसले यो पटकदेखि २ वटा महामन्त्री निर्वाचित नै राख्ने व्यवस्था गरेको छ । यसअघि एउटा महामन्त्री निर्वाचित र अर्को मनोनित गर्ने व्यवस्था थियो ।

कुल मत ४६८२ मा गगन थापाले ३०२३ मत ल्याए । यस्तै विश्वप्रकाश शर्माले १९८४ मत ल्याए । डा प्रकाशशरण महतले १५५६ तथा प्रदिप पौडेलले १३९३ मत ल्याए । डा मिनेन्द्र रिजालले ८०९ मत तथा राजाराम कार्कीले १०६ मत ल्याए ।

महामन्त्रीमा निर्वाचित थापा शेखर कोइराला प्यानलबाट र शर्मा प्रकाशमानसिंह प्यानलबाट चुनाव लडेका थिए ।

शर्मा देउवा प्यानलमा भएपनि देउवाले महत र सिटौला प्यानलमा रहेका पौडेललाई महामन्त्रीको टिकट दिएपछि प्यानल परिवर्तन गरेका थिए ।

शर्मा नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदा गगन थापा उपाध्यक्ष थिए । नेपाली कांग्रेसको केन्द्रिय कमिटिमा भने शर्माभन्दा अगाडि थापा थुनिएका थिए । थापाले अघिल्लो पटक नै महामन्त्रीमा बिपी पुत्र डा शंसाक कोइराला र बरिष्ठ नेता तथा आफ्नै ससुरा अर्जुननरसिंह केसीसँग प्रतिस्पर्धा गरेका थिए ।

थापा २०६४ सालमा संविधानसभामा समानुपातिक तर्फ सभासद् भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भारी मतले काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव जितेका थिए ।

२०७४ सालमा कम्युनिष्ट पार्टीको गठबन्धन हुँदापनि काठमाडौं ४ बाट थापाले चुनाव जितेका थिए । थापासँग स्वास्थ्यमन्त्री पदमा रहेर काम गरेको समेत अनुभव छ ।

शर्माले भने अहिलेसम्म संसदीय निर्वाचन जितेका छैनन् । शेरबहादुर देउवाले शर्मालाई पार्टी प्रवक्ता बनाएका थिए ।


क्लिकमान्डु