महासंघमा अध्यक्षको प्रत्यक्ष चुनाव गर्ने प्रस्ताव, बरिष्ठ उपाध्यक्ष पद हट्ने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा बरिष्ठ उपाध्यक्ष पद नै खारेज गर्ने प्रस्ताव विधान संसोधन समितिले गरेको छ ।

महासंघले पूर्व अध्यक्ष कुशकुमार जोशीको संयोजकत्वमा विधान संसोधन समिति गठन गरेको थियो । समितिले अहिले ४ बजे महासंघ अध्यक्ष शेखर गोल्छालाई मस्यौदा बुझाउने छ । समितिले महासंघ अध्यक्षको कार्यकाल समेत ३ वर्षबाट घटाएर २ वर्षमा झार्नुपर्ने सुझाव दिएको छ ।

मस्यौदामा अहिले रहेको बरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने प्रस्ताव छ । अध्यक्षको निर्वाचन प्रत्यक्ष गर्नुपर्ने सुझाव दिएको छ । यो नियम भने अहिलेका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको लागि लागू हुने छैन । उनी अहिले बरिष्ठ उपाध्यक्ष हुने छन् ।

आगामी वर्षको चैतदेखि अध्यक्ष हुने छन् । आगामी वर्ष चन्द्र ढकाल अध्यक्ष हुने र उपाध्यक्षको मात्र निर्वाचन गर्ने र ढकाल अध्यक्ष भएको कार्यकाल सकिएपछि अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने सुझाव जोशी समितिले दिएको छ ।

यस्तै महासंघमा महिला उपाध्यक्ष राख्ने र उपाध्यक्षको बरियता क्रमको लागि महासंघ कार्यसमितिमा जो पहिले आएको हो त्यो उपाध्यक्षको बरियता पहिलो हुने छ ।

यसबाहेक जिल्ला नगर,वस्तुगत र एशोसियट सदस्यमा महिलाको लागि आरक्षण कोटा तोकिएको छ । महासंघको उपाध्यक्ष हुनको लागि कार्यसमितिमा ६ वर्ष काम गरेको अनुभव हुनुपर्ने छ ।

यस्तै प्रदेश कमिटिलाई महासंघले बढी अधिकार दिने प्रस्ताव गरेको छ । गाउँपालिकामा पनि महासंघको शाखा खोल्न सकिने छ । जसले प्रदेश कमिटिको निर्वाचनमा भाग लिन पाउने छ ।


क्लिकमान्डु