शोधानान्तर घाटा १ खर्ब ५० अर्ब, रित्तिन थाल्यो विदेशी सन्चिती



काठमाडौं । चालु आर्थिक वर्षको शोधानान्तर घाटा १ खर्ब ५० अर्ब रुपैयाँ घाटामा गएको छ । अघिल्ले वर्ष पहिलो ४ महिनामा १ खर्ब १० अर्बले शोधानान्तर बचतमा थियो ।

समीक्षा अवधिमा चालु खाता रु.२२३ अर्ब १९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १९ अर्ब १ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ८६ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८८ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३९.३ प्रतिशतले कमी आई रु.२ अर्ब ५२ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७७.० प्रतिशतले वृद्धि भई रु.६ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.४ अर्ब १५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.३ अर्ब ७५ करोड रहेको थियो ।

२०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.० प्रतिशतले कमी आई २०७८ कात्तिक मसान्तमा १२४४ अर्ब ८५ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ कात्तिक मसान्तमा १०.९ प्रतिशतले कमी आई १० अर्ब ४७ करोड कायम भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७८ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २९.२ प्रतिशत, ६०.० प्रतिशत र २३.८ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।


क्लिकमान्डु