विज्ञापनमा ग्लोबल आइएमई बैंकको साढे ७ करोड खर्च, अरु केमा कति ?



काठमाडौं । निजी क्षेत्रको अग्रणी ग्लोबल आइएमई बैंकले आफ्नो व्यावसायिक प्रवद्र्धनका लागि विज्ञापनमा साढे ७ करोड रुपैयाँ खर्च गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ मा ७ करोड ५१ लाख ३१ हजार ६ सय २२ रुपैयाँ खर्च गरेको बैंकले हालै प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

बैंकले विज्ञापनका लागि गरेको खर्च कुल नाफाको २ प्रतिशत पनि होइन । किनभने, गत आर्थिक वर्षमा बैंकले ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले गत वर्ष नेपाल सरकारलाई १ अर्ब ८० करोड २९ लाख रुपैयाँ आयकर तिरेको छ । बैंकले कुल नाफाको २५ प्रतिशत सरकारलाई कर तिर्नुपर्छ ।

बैंकले कर्मचारीहरुका लागि जम्मा ३ अर्ब १६ करोड ४८ लाख १५ हजार ८ सय ४१ रुपैयाँ खर्च गरेको छ । गत वर्ष बैंकमा कुल २९ सय ६२ जना कर्मचारी थिए । जसमध्ये १८ सय ८७ जना पुरुष र १ हजार ७५ जना महिला कर्मचारी कार्यरत थिए । बैंकको व्यवस्थापकीय तहमा भने ८५ जना पुरुष र १२ जना महिला कर्मचारी छन् ।

बैंकले कर्मचारीहरुलाई १ अर्ब ३१ करोड ५१ लाख ९५ हजार ६ सय ५५ रुपैयाँ कर्जा तथा सापटी उपलब्ध गराएको छ ।

गत वर्ष बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ)का लागि १ करोड ३९ लाख ७४ हजार २०० रुपैयाँ खर्च गरेको छ । त्यसैगरी, बैंकले अध्यक्ष तथा सञ्चालकहरुका लागि बैठक भत्तास्वरुप २८ लाख १८ हजार र सञ्चालक समितिस्तरिय समितिका सदस्यहरुलाई बैठक भत्तावापत १० लाख ६५ हजार रुपैयाँ खर्च गरेको छ ।

सञ्चालकहरुलाई सबै प्रकारका खर्चबापत बैंकले १ करोड ९३ लाख ८४ हजार २ सय ६६ रुपैयाँ खर्च गरेको छ ।

सञ्चालकहरुलाई बैंकले प्रतिमहिना पत्रपत्रिका तथा यातायात सुविधावापत प्रतिसञ्चालक १० हजार रुपैयाँ प्रदान गर्दै आएको छ । त्यसबाहेक पनि विभिन्न शिर्षकमा सञ्चालकलाई खर्च हुन्छ ।

बैंकले गत वर्ष ४१ लाख ८८ हजार ९ सय ४४ रुपैयाँ बराबरका पत्रपत्रिका तथा पुस्तक किन्नमा खर्च गरेको छ । त्यसैगरी, पेट्रोलियम पदार्थका लागि २ करोड ९५ लाख ५१ हजार ८७ रुपैयाँ र सवारी साधन मर्ततका लागि ८७ लाख ४० हजार १ सय २७ रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै, भ्रमण भत्ता र खर्च शिर्षकमा बैंकले गत वर्ष ३ करोड २८ लाख ३५ हजार २ सय ९८ रुपैयाँ खर्च गरेको छ भने सुरक्षाका लागि २१ करोड ४१ लाख ५४ हजार ७ सय ६० रुपैयाँ खर्चिएको छ ।

बैंकमा कुल २५ लाख २९ हजार ३ सय ९ वटा निक्षेप खाता छन् भने ५६ हजार ५ सय १० वटा कर्जा खाता छन् । उक्त निक्षेप खाता खोल्ने ग्राहकबाट बैंकले २ खर्ब ८ अर्ब ३४ करोड ८५ लाख ५४ हजार रुपैयाँ संकलन गरी कर्जा खाता खोल्न ग्राहकलाई २ खर्ब ४३ अर्ब ७६ करोड २४ लाख ७५ हजार रुपैयाँ ऋण दिएको छ ।

५६ हजार ५०० ऋणीबाट बैंकले २१ अर्ब ६९ करोड ३५ लाख रुपैयाँ ब्याज असूल गरेको छ भने २५ लाख २९ हजार निक्षेपकर्ताका लागि बैंकले १२ अर्ब ५५ करोड ४४ लाख रुपैयाँ खर्च गरेको छ । यो एक वर्षमा बैंकले ९ अर्ब १३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोछ ।

बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड २५ लाख पैयाँ छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ २५ पैसा छ ।

बैंकको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्षसमेत रहेका चन्द्र ढकाल छन् भने सीइओमा पाका बैंकर रत्नराज बज्राचार्य छन् । यो बैंक छोटो समयमै धेरै संस्थाहरुलाई मर्ज गरेर विभिन्न सूचकमा देशकै नम्बर वान बैंक बन्न सफल भएको छ । कमर्ज एण्ड ट्रष्ट र जनता गरी दुई वाणिज्य बैंकसहित विभिन्न विकास बैंक र फाइनान्स कम्पनीलाई ग्लोबलले मर्ज गरेको हो ।


क्लिकमान्डु