बैंकमा तरलता अभाव हुँदा उद्योगहरु ५०/६० प्रतिशत क्षमतामा मात्रै चलेका छन्, मनोवल त बलियै छ



अहिले बैंकहरुमा लगानीयोग्य पुँजी (तरलता) अभाव छ । हरेक बैंकसँग पैसा दिनसक्ने क्षमता कम छ । बैंकमा ऋणको माग जति आइरहेको छ । र, बैंकहरुले जति ऋण प्रवाह गरिरहेका छन्, त्यसको तुलनामा निक्षेप निकै कममात्रै आएको छ । जसकारण वित्तीय प्रणालीमा तरलता अभाव भएको हो ।

तरलता अभाव हुनुको मुख्य कारण भनेको सरकारले खर्च गर्न नसक्नु हो । सरकारको पुँजीगत अर्थात् विकास खर्चको स्थिति हेर्ने हो भने निकै दयनिय छ । यतिसम्म कि सरकारले निर्माण व्यवसायीलाई काम गरिसकेको भुक्तानीसमेत दिएको छैन ।

अहिले बैंकहरुले ठूला उद्योगीलाई एलसी खोल्नका लागि बन्दै गरिसकेको अवस्था त छैन । ठूला व्यवसायीको एलसी खोलिए पनि अहिले ब्याजदर बढ्दा समस्या भएको छ । एउटा निश्चित ब्याजदर हुन्छ भन्ने सोचले व्यवसाय अगाडि बढाएको हुँदा व्यवसायीहरुको लागत बढ्नेभयो । बैंकहरुले ऋणको ब्याजदर बढाएका छन् । हामीसँग पैसा छैन अब ब्याजदर बढ्ने भयो भनेका छन् । नयाँ व्यवसायीको ऋण स्वीकृति र एलसी नै नखुल्ने स्थिती छ ।

एकवर्ष अगाडि बैंकमा तरलताको अवस्था धेरै सहज थियो । त्यो बेला बैंकले ऋण बढी लैजान अनुरोध गर्थे । ठूला उद्योगीलाई त बोलाइबोलाई सस्तो ब्याजदरमै ऋण दिए । बैंकमा पैसा बढी भएको तथा ब्याजदर सस्तो भएको कारण उद्योगीहरुले ऋण लिएर नयाँ काम गर्ने योजनासमेत बनाए । र, सोही अनुसार अघि बढे ।

तर, अहिले तरलता अभावले व्यवसायीहरुलाई समस्यामा पारेको छ । केन्द्रिय बैंकको नीतिले गर्दापनि तरलता अभाव भएको हो । जसले गर्दा बैंकहरुले हिँजोको दिनमा प्रतिबद्धता व्यक्त गरे अनुसारको पैसा दिन सकेका छैनन् ।

अहिले ब्याजदर बढ्दैमा तत्कालै उपभोक्तालाई त्यसको भार त पर्दैन । खासगरी सिमेन्ट र डण्डी उद्योगमा ज्यादै नै ठूलो प्रतिस्पर्धा छ । ब्याजदरले लागत बढाए पनि त्यसको मार अहिले उद्योगीलाई पर्ने हो । अहिलेको स्थितीमा २ देखि ५ प्रतिशत बिन्दुसम्म ब्याजदर बढ्ने देखिएको छ । ठूलो आकारको ऋण हुनेलाई २ प्रतिशत बिन्दुले नै ब्याजदर बढ्दा असर गर्छ । १०/२० करोडसम्म ब्याज बढी तिनुपर्ने हुन्छ ।

ब्याजदर बढे पनि उद्योगीको आत्मबल कमजोर हुँदैन । व्यवसायी भनेका आर्मीजस्ता हुन् । अगाडि जे आए पनि भिँड्दै अघिबढ्ने । अगाडि बढेपछि पछाडि फर्कने कुरा हुँदैन । अर्बौंको लगानी लगाएर उद्योग खोलेपछि ब्याजदर बढ्यो भनेर पछि हट्नु पनि त भएन नि । तर, ब्याजदरले उद्योगीलाई तनाव बढाएको छ ।

अहिले उद्योगीलाई परेको मुख्य समस्या भनेको बैंकको ब्याजदर बढ्नु नै हो । हामीले उद्योग चलाउनका लागि विदेशबाट कच्चा पदार्थ आयात गर्नुपर्छ । यसका लागि डलरमा एलसी खोल्नुपर्छ । तर, त्यो अनुसारको डलर एलसी नखोलिने स्थिती छ । त्यसमा पनि अहिले २ देखि ३ प्रतिशत बिन्दुले ब्याजदर बढेको छ ।

अब व्यवसायको एउटा सिजन आएको हो । निर्माण क्षेत्रमा दशैंतिहार तथा छठजस्ता पर्व मनाएर सकिएपछि कामको सिजन शुरु भएको मानिन्छ । अहिले सिजनको शुरुमै बैंकमा तरलता अभावले निर्माण क्षेत्रमा काम रोकिने अवस्था छ । यसले निर्माण क्षेत्रसँग सरोकार राख्ने उद्योगलाई संकटतर्फ धकेलेको छ ।

मंसिर महिनादेखि निर्माणको काम बुम हुने बेला हो । जसले गर्दा माग बढ्नुपर्ने थियो । अफसिजनको भन्दा माग बढेपनि अघिल्लो वर्षको यो समयकोृ तुलनामा माग बढ्न सकेको छैन । अहिले हाम्रो उद्योग ५० देखि ६० प्रतिशत क्षमतामा चलेको छ । तरलता सहज भएको भए अहिले उद्योग शतप्रतिशत क्षमतामा चल्नुपर्ने थियो । उद्योगको क्षमताभन्दा बढी माग आउनुपर्ने समय थियो । त्यो अवस्था छैन ।

अहिले गाडी किन्न जानुहोस् बैंकले फाइनान्सिङ बैंकले गर्दैन । नयाँ उद्योग खोल्न जानुहोस् बैंकले ऋण दिने अवस्था छैन ।

सँधै त यस्तो अवस्था नहोला भन्ने अनुमान छ । अहिले तरलता अभावले ठूला सिमेन्ट र स्टिल उद्योग चल्न नसक्ने स्थिती छ । कतिपय उद्योग घाटामा चलेका छन् । यसमा तरलता अभावबाहेक सिमेन्ट र स्टिल उद्योगको संख्या बढी भएर पनि हो ।

तरलता अभावको समस्या धेरै लामो गएमा धेरै उद्योगीलाई असहज स्थिती हुन्छ । देशको अर्थतन्त्रलाई राम्रो हुँदैन । यसको समाधान दीर्घकालिनरुपमा गर्नका लागि सरकारले विकास खर्च गर्नुपर्यो । निर्माण व्यवसायीले गरेको कामको भुक्तानी समयमा दिनुपर्यो ।

विदेशमा सरकारले पैसा खर्च गरेर अर्थतन्त्रलाई चलायमान बनाएको हुन्छ । सरकारले यहाँ पैसा नै खर्च गरेन । निर्माण व्यवसायीको पैसा समयमा भुक्तानी दिएमा बजारमा तरलता जाने थियो । निर्माण व्यवसायीले हामीसँग सामान लगेका छन् । तर, सरकारले पैसा नदिएको कारण भुक्तानी हुन सकेको छैन ।

(कुराकानीमा आधारित)


क्लिकमाण्डू