सबैभन्दा बढी ऋण प्रतिवद्धता विश्व बैंकको, गतवर्ष १०९ अर्ब आयो



काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को मंसिर अन्तिम सातासम्म ५७ अर्ब २६ करोड रुपैयाँ बराबरको वैदेशिक ऋण प्रतिवद्धता प्राप्त भएको छ ।

अर्थ मन्त्रालयलका अनुसार मंसिर अन्तिम सातासम्म ६ वटा ऋण सम्झौता मध्ये ३ वटा सम्झौता विश्व बैंकसँग भएको छ ।

बाँकी ३ मध्ये २ वटा ऋण सम्झौता एशियन डेभलपमेन्ट बैंक (एडीबी) र एक ऋण सम्झौता इन्टरनेशनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइफाड)सँग भएको छ । सो अवधिमा विश्व बैंकले मात्र १८ अर्ब ७९ करोड रुपैयाँ बराबरको ऋण दिने प्रतिवद्धता जनाएको छ ।

यो अवधिमा ग्रिन क्लाइमेट फण्ड (जीसीएफ), एडीबी र स्वीजरल्याण्डबाट ५ अर्ब ८१ करोड रुपैयाँ अनुदान प्रतिवद्धता आएको छ ।

गत आवको अन्त्यसम्ममा विश्व बैंकसँग १ खर्ब ३३ अर्ब ५१ करोड रुपैयाँ ऋण प्रतिवद्धतामा हस्ताक्षर भएकोको थियो ।

सो अवधिमा विश्व बैंकले कोभिड नियन्त्रण गर्न, समृद्धिका लागि वन, पूर्वाधार विकास आयोजना र विद्यालय शिक्षा विकास कार्यक्रम सञ्चालन गर्न २ अर्ब ६९ करोड रुपैयाँ अनुदान प्रतिवद्धता सम्झौता गरेको अर्थमन्त्रालयले जानाएको छ ।

त्यसैगरी दोस्रोमा बढी ऋण प्रतिवद्धता गर्नेमा एडीबी रहेको छ । एडीबीले गत आवको अन्त्यसम्ममा ६४ अर्ब ४७ करोड रुपैयाँ ऋण प्रतिवद्धता गरेको थियो ।

सबैभन्दा बढी अनुदान प्रतिवद्धता जर्मनीबाट

गत आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी अनुदान प्रतिवद्धता जर्मनीबाट आएको छ । सो आवको अन्त्यसम्ममा ६ अर्ब ९३ करोड रुपैयाँ अनुदान प्रतिवद्धता आएको थियो । त्यसैगरी जापानबाट १ अर्ब ८१ करोड रुपैयाँ अनुदान प्रतिवद्धता आएको अर्थ मन्त्रालयले जनाएको छ ।

कुन शीर्षकमा कति ऋण र अनुदान आयो ?

चालु आवको मंसिर मसान्तसम्म सबैभन्दा बढी कोभिड भ्याक्सिन खरिदका लागि प्रतिवद्धता आएको छ । यो शीर्षकमा १९ अर्ब ६९ करोड रुपैयाँ ऋण प्रतिवद्धता आएको हो । प्रतिवद्धता पत्रमा अर्थ मन्त्रालय र एशियाली विकास बैंकबीच साउन २७ गते सम्झौता भएको थियो ।
त्यस्तै दोस्रोमा सबैभन्दा बढी कृषि कार्यक्रम सञ्चालन गर्न ऋण प्रतिवद्धता आएको छ । यो शीर्षकमा अर्थ मन्त्रालय र आइफाडबीच असोज १२ गते सम्झौता भएको हो ।

त्यसैगरी उच्च शिक्षा विकास कार्यक्रमका लागि ७ अर्ब ५ करोड रुपैयाँ ऋण प्रतिवद्धता आएको छ । उक्त प्रतिवद्धता पत्रमा भदौ ३ गते हस्ताक्षर भएको थियो । स्वास्थ्य र विद्यालय शिक्षा विकास कार्यक्रमका लागि ११ अर्ब ७४ करोड रुपैयाँ ऋण दिने विश्व बैंकले प्रतिवद्धता जनाएको छ । यो प्रतिवद्धता पत्रमा भदौ ३० गते हस्ताक्षर भएको हो ।

त्यसैगरी विद्युत ग्रीड आधुनिकीकरणका लागि मंसिर १० गते एडीबीसँग ऋण सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकले नेपाल सरकारलाई ७ अर्ब १३ करोड रुपैयाँ ऋण उपलब्ध गराउँने प्रतिवद्धता गरेको छ ।

त्यस्तै यो अवधिमा ५ अर्ब ८१ करोड रुपैयाँ वैदेशिक अनुदान प्रतिवद्धता पनि आएको छ । जसमा जिसिएफ र अर्थमन्त्रालयबीच साउन ७ गते कूल ३ अर्ब ३३ करोड बराबरको अनुदानसम्बन्धी प्रतिवद्धता पत्रमा हस्ताक्षर भएको थियो ।

एडीबीसँग मन्त्रालयले चालु आवको साउन १४ गते ५९ करोड रुपैयाँ अनुदान प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेको छ भने स्वीजरल्याण्डसँग भदौ २५ गते १ अर्ब ८७ करोड रुपैयाँ अनुदान प्रतिवद्धता सम्झौता भएको छ ।


क्लिकमान्डु