कलंकी मालपोत कार्यालयबाट पहिलोपटक फेसलेस रोक्का



काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले इतिहासमा पहिलोपटक कलंकी मालपोत कार्यालयबाट फेसलेस रोक्का गरेको छ ।

विभागले मंगललबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठको प्रमुख अतिथ्यमा पहिलोपटक फेसलेस रोक्का गरेको हो ।

उक्त कार्यक्रममा मन्त्रालयका सचिव सचिव गणेश प्रसाद पाण्डे, विभागका महानिर्देशक पिताम्बर घिमिरेलगायत कंलंकी कार्यलयको प्रमुखसहितको उपस्थितिमा फेसलेस रोक्का शुरु गरेको विभागका प्रवक्ता कृष्ण प्रसाद भण्डारीले बताए ।

उनकाअनुसार नेपालमा पहिलो पटक सञ्चय कोषमा आबद्ध भएका कर्मचारीको डिजिटल रुपमा रोक्का गरेको हो ।

विभागले कलंकी मालपोत कार्यलयबाट रोक्का दर्ता नम्बर RK0005894 र रजिस्ट्रेशन NL0009963 बाट पुर्णरुपमा सफल परिक्षण भएको गरेको छ । उक्त प्रणाली सञ्चालनमा आएसँगै अब सञ्चय कोषमा आबद्ध भएका कर्मचारीहरू मालपोत कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ ।

विभागले हाल सञ्चय कोषसँग सम्झौता गरेर डिजिटलमार्फत् रोक्का तथा फुकुवा गर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्थासँगै जग्गा प्रशासनमा डिजिटलको युग शुरु भएको विभागको भनाइ छ ।

विभागले कंलकीबाट शुरु गरेको फेसलेस रोक्का तथा फुकुवाको कार्य अब देशभर नै सुविधा दिने योजना विभागको छ ।

विभागले यसअघि नै कार्यविधि संशोधन गरेर सञ्चय कोष, बैंक तथा वित्तिय संस्थालगायतलाई सम्पूर्ण क्षेत्रसँग सम्झौता गरेर रोक्का तथा फुकुवाको कार्य अनलाइनमार्फत् गर्न सक्ने बाटो खुल्ला गरिसकेको छ ।

सोही अनुसार विभागले आगामी दिनमा बैंक तथा वित्तिय संस्थासँग क्रमशः सम्झौता गरी देशभर सो सुविधा दिने प्रवक्ता भण्डारीको भनाइ छ ।

‘अहिले सञ्चय कोषका कर्मचारीलाई रोक्का तथा फुकुवाको कार्य अनलाइनबाट प्रदान गर्न शुरु गरेको छ,’ उनले भने, ‘अब विस्तारै बैंक, सहकारी तथा वित्तिय संस्थासँग सम्झौता गरेर १ सय २६ वटै मालपोत कार्यालयमा फेसलेस रोक्का फुकुवाको व्यवस्था गर्नेछौं ।’

विभागले कलंकीबाट परीक्षणको रुपमा सो सुविधा प्रदान गरेको उनले बताए । त्यसैले, विभाग परीक्षणको क्रममा रहेकाले विस्तारै कमी कमजोरीलाई सुधार गर्दै सेवाग्राहीलाई मालपोत कार्यालयमा घण्टौं लाइन बस्नुपर्ने झमेलाको अन्त्य हुने उनले दाबी गरे । साथै, समयको बचत र खर्चको बचत हुने उनले जिकिर गरे ।

मालपोत कार्यालयले सेवा प्रवाह गर्नेमध्ये ५० प्रतिशत रोक्का तथा फुकुवाको कार्य हुने गर्दछ । जसले गर्दा मालपोत कार्यालयमा निकै भीड हुने गर्दछ । सोही भीडलाई व्यवस्थापन तथा न्यूनिकरण गर्नका लागि डिजिटलको प्रयोगबाट रोक्का तथा फुकुवाको व्यवस्था गरेको हो ।


क्लिकमान्डु