चर्को आलोचनापछि अर्थमन्त्रीले भनेः समस्या समाधान गर्छु बिन्ती छ विरोध नगर्नुहोस्



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारको दिगो विकास र विस्तारको लागि आफूले सबै काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

लगानीकर्ताले उठाउँदै आएका सबै माग पुरा गर्ने भन्दै उनले आफ्नो नाम जोडेर विरोध नगर्न बिन्ती बिसाएका छन् । उनले लगानीकर्तासँग बजारमा देखिएका सबै समस्या समाधान गर्छु भन्दा पनि मसँग बैरभाव राखेर विरोध नगर्न आग्रह गरेका छन् ।

उनले बोर्ड र नेप्सेमा योग्य व्यक्ति ल्याएर अहिलेका सबै समस्या समाधान गर्ने प्रतिबद्धता समेत जनाएका छन् । पुँजी बजार सुदृढीकरण बृहत कार्यदलले गरेकाे भेटमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिबद्धता जनाएका हुन् । भेटमा कार्यदलका संयोजक अम्बिका प्रसाद पौडेलले बजारमा देखिएको अहिलेको समस्याको बारेमा जानकारी गराए ।

जारी विज्ञप्ति अनुसार भेटमा सेयर धितोकर्जा धितोपत्र बोर्ड र नेप्सेमा अध्यक्ष र सिइओ नियुक्तीको विषय उठाइएको छ । लगानीकर्ताले उक्त दुवै निकायमा तत्काल प्रमुख नियुक्त गर्न आग्रह गरेका छन् । दुवै निकायमा प्रमुख नहुँदा बजारमा देखिएका समस्या समाधान गर्न अहसज भएको जानकारी गराएका छन् ।

साथै २०७५ सालमा तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले गठन गरेको कार्यदलले पुँजी बजार विकासको लागि ल्याएको ५८ बुँदामा बाँकी रहेको काम पनि समयमा नै सक्न सुझाव दिएका छन् ।


क्लिकमान्डु