एमसीसीविरुद्ध मोओवादी केन्द्र (समाजवादी)ले संकलन गर्यो १० लाख हस्ताक्षर, संघर्षको चेतावनी



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (समाजवादी)ले एमसीसी सम्झौताविरुद्ध संकलन गरेको १० लाख हस्ताक्षर सार्वजनिक गर्दै संघर्षको चेतावनी दिएको छ ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पार्टीले मंसिर २३ गतेदेखि २८ गते (आज)सम्म देशव्यापी रुपमा एमसीसी विरुद्धको हस्ताक्षर संकलन गरेर सार्वजनिक गरेको जानकारी गराएको छ ।

‘राष्ट्रिय स्वाधिनताको रक्षार्थ सम्पुर्ण क्रान्तिकारी, देशभक्त, वामपन्थी, प्रगतिशील शक्तिहरु एकजुट होऔ, राष्ट्रघाती एमसीसी सम्झौता विरुद्धको हस्ताक्षर अभियानमा सहभागी बनौ ।’ भन्ने नाराको साथ हस्ताक्षर संकलन गरेको समाजवादीले जनाएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष कर्णजित बुढाथोकीले एमसीसी सम्झौतालाई राष्ट्रघाती भन्दै त्यसविरुद्ध १० लाख जनाको हस्ताक्षर गरेर आफ्नो दलले ऐतिहासिक र युगान्तकारी कार्यक्रम गरेको बताए । उनले सरकारले गर्न लागेको एमसीसी सम्झौता जनताको हितमा नभएको तर्क गरे । शासन र सत्ता गरिरहेका नेताहरुको कारण नेपाली जनताको टाउकोमा ठ्रलो बज्रपात देखिएको समेत उनले आरोप लगाए ।

नेपाली जनतालाई सहि ढंगले नेतृत्व गर्ने ऐतिहासिक कार्यभार थपिएको छ भन्दै अध्यक्ष बुढाथोकीले भने, ‘अबको यो सामूहिक विघटनको अवस्था हो । पुरानो सत्ता, प्रतिक्रियावादी नेतृत्व, प्रतिक्रियावादी संरचना र पुरानो दृष्टिकोणको सामुहिक विघटनको गर्नुपर्ने अवस्था हो ।’ नेपाली राजनीति र निकासको लागि देशप्रेमीहरुको सामुहिक गठनको आवश्कता रहेको उनले औंल्याए ।

उनले अध्यादेशमार्फत देश चलेको आरोप लगाए । ‘अदालतलाई राजनीति गर्ने थलोको रुपमा आज राजनीतिक दलले प्रयोग गर्दै आएका छन् शक्ति सन्तुलनको हिसाबले जनता थप पीडित भएका छौ,’ उनले भने, ‘अब जनताको इच्छा अनुसारको अग्रगामी निकास दिनुपर्छ ।’

पार्टी र नेताहरु असक्षम भइसकेको तर्क गर्दै उनीबाट देशको निकास हुन नसक्ने तर्क गरे । क्रान्तिकारी पार्टीहरुले निकास दिनुपर्ने उनको भनाई थियो । नेपालमा राजतन्त्र पुनःस्थापना गर्न लागेका केही पार्टीहरुलाई लक्षित गर्दै उनले भने, ‘यसको लागि केही तत्वहरु सलवलाएका छन् जुन इतिहास बनिसकेको छ । यसबारेमा हामीले ध्यान दिनुपर्ने देखिन्छ ।’

प्रत्यक्ष राष्ट्रपतिय प्रणाली नै आजको आवश्कता रहेको उनको भनाइ थियो । व्यक्ति देश र राजनीतिक प्रणालीमा आएको संकट र राजनीतिमा आएको संकट हटाउनको लागि आफ्नो पार्टी लागेको बताए । उनले पुरानो नेता र राजनीतिक दलले राष्ट्रको संकट समाधान गर्न नसक्ने पनि जिकिर गरे । अबको निकासको लागि आफ्नो पार्टीले अघि सारेको एजेण्डा नै नेपाली जनताको एजेण्डा हुने उनको भनाई थियो ।

अध्यक्ष बुढाथोकीले १० लाख जनताको हस्ताक्षर संकलनलाई ऐतिहासिक संकलन भएको दाबी गरे । एमसीसीलाई केही दिनमा संसदमा पेश हुने भन्दै देशप्रेमी सबै सचेत रहन पर्ने उनको भनाई थियो । यदि यति विरोधको बाबजुद पनि एमसीसी पास भएमा नेपालमा ठुलो आँधी आउने पनि उनले चेतावनी दिए । नेपाललाई हातमा लिन अमेरिकाले एमसीसी लागु गर्न लागेको उनको ठहर छ । एमसीसी सम्झौता नेपाली जनतालाई कुनै पनि हिसाबले ठिक नुहने उनले तर्क गरे । यति गर्दा पनि आफ्नो माग सुनुवाई नभएमा आफ्नो पार्टी अर्को तरिकाले अगाडी बढ्ने बताए । एमसीसी खारेज नगरी लागू गरेमा कडा भन्दा कडा जनसंघर्षमा उत्रने घोषणा गरे ।

उनले एमसीसीविरुद्धको हजारौ जनताले गरेको हस्ताक्षर देशभरबाट आइरहेको र आउने क्रम जारी रहेको उनको भनाई थियो । उनले एमसीसी सम्झौता पास गरेरमा अफगानीस्तानमा भएको अवस्था नेपालमा पनि दोहोरिने उनले धारणा राखे । नेपालमा ९९ प्रतिशत जनताको विरुद्धमा रहेको राष्ट्रघाती एमसीसी नेपाललाई खाँचो नभएको उनले स्पष्ट पारे । कांग्रेसको जारी १४औं महाधिवेशनलाई लक्षित गर्दै बुढाथोकीले असक्षम नेता शेरबहादुर देउवालाई फेरी कार्यकर्ताहरुले सत्तामा राखेर नेपालीलाई धोका दिन खोजेको आरोप लगाए ।


क्लिकमान्डु