पास्ता बनाउने मेसिन भित्र ल्याएको सुन विमानस्थल भन्सारले नियन्त्रण लियो



काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सोमबार कतारबाट काठमाडौं उडान भरेका २ यात्रुबाट पास्ता बनाउने मेशिनमा लुकाएर ल्याएको ६ सय ग्राम सुनलाई नियन्त्रणमा लिएको छ ।

सोमबार कतारबाट काठमाडौं उडान भरेका दुई यात्रुले ल्याएको एकै प्रकारको पास्ता बनाउने मेशिनमा लुकाएर ल्याएको सुन भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो ।

भन्सार कार्यालयका अनुसार पास्ता बनाउने मेशिनलाई एक्सरे चेकजाँच गर्दा शंका लागि मेशिन खोलेर सोमा जडान भएको स्टीलको पाइप (रोलर)लाई काटेर हेर्दा चाँदी जस्तो देखिने जलप लगाई भित्र लुकाएर सुनको पाइप बनाइ ल्याएको पाइएको हो ।

त्यस्तै लगातार सुन अवैध तरिकाले नेपाल भित्रन थालेपछि भन्सार विभागले गत १३ गतेदेखि कडाइ गर्न गरेको छ । कडाइ गरेयता त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले ९४ किलो सुन नियन्त्रणमा लिएको छ । यो सुन २ हजार ७८ यात्रुुले ल्याएका थिए ।

यस्तै १ हजार ८९७ यात्रुले आफ्नो साथमा ल्याएको करिब ८७ केजी ५०० ग्राम सुन प्रचलित कानून बमोजिम तिर्नुपर्ने भन्सार राजस्व तिरेर जाँचपास गराएर लगेका छन् ।

त्यस्तै ६ किलो ५ सय ग्राम सुन भन्सार कार्यालयको लकरमा छ । जुन यात्रुले जाँचपास गराएर लैजान सक्छन् ।

भन्सार कार्यालयका अनुसार मंसिर १३ देखि २६ गतेसम्म वैधानिक रुपमा ल्याउन सकिने सुनबाट ७ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।


क्लिकमान्डु