आन्तरिक घट्दा बाह्य ऋण बढ्यो, विदेशीलाई नेपालले ९४९अर्ब तिर्नुपर्ने



काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ३ महिनामा वैदेशिक ऋण १.६२ प्रतिशत बिन्दुले वृद्धि भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको पहिलो ३ महिनाको तथ्यांक अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा बाह्य ऋण वृद्धि भएको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्म यस्तो ऋण ९ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ रहेको थियो । तर त्यसयता ३ महिनाको अवधिमा ऋण १५ अर्ब ८ करोड ९६ लाख रुपैयाँ थपिएको ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको असोज अन्तिमसम्म वैदेशिक ऋण ९ खर्ब ४९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै आन्तरिकतर्फको ऋण भने ३.६१ प्रतिशत बिन्दुले घटेको छ । गत आवको अन्त्यसम्ममा ८ खर्ब २ अर्ब ९४ करोड आन्तरिक ऋण रहेको थियो । तर, चालु आर्थिक वर्षको ३ महिनामा १३ अर्ब ९१ करोड रुपैयाँ ऋण भुक्तानी गरिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

आन्तरिकतर्फको ऋण भुक्तानी भएपछि गत आवको अन्त्यसम्मको तुलनामा चालु आवको ३ महिनामा सरकारको कुल ऋणमा ०.८० प्रतिशतले कमी आएको छ ।

असार मसान्तसम्म आन्तरिक र बाह्य गरी कुल ऋण १७ खर्ब ३७ अर्ब ८ करोड रुपैयाँ रहेकोमा चालु आवको असोज मसान्तसम्म आइपुग्दा १३ अर्ब ९१ करोड रुपैयाँ घटेर १७ खर्ब २३ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु