एलसी खोल्न राष्ट्र बैंकको कडाइ



काठमाडौं । नेपाल राष्ट्र बैंकले एलसी खोल्नको लागि कडाइ गरेको छ ।

केन्द्रीय बैंकले एकीकृत परिपत्र २०७६ मा संशोधन/परिमार्जन/ थप गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले उक्त व्यवस्थामा प्रतीतपत्रमा उल्लिखित रकमको दश प्रतिशतभन्दा बढी हुने गरी संशोधन गर्नुपरेमा नियमानुसार गर्नुपर्ने अन्य कुराहरूका अतिरिक्त आफ्नो केन्द्रीय कार्यालयको समेत स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।

संशोधित रकम अमेरिकी डलर पाँच हजार वा त्यस बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा वा सो भन्दा कम हुने भएमा त्यस्तो स्वीकृति लिन आवश्यक पर्ने छैन ।

साथै, जारी भएको प्रतीतपत्र अन्तर्गत कागजात प्राप्त भई सोको भुक्तानी भई सकेपछि पुनः सोही प्रतीतपत्र संशोधन गर्न सकिने छैन । तर, यस्तो व्यवस्था रिभल्भिङ्ग प्रतीतपत्रको हकमा लागू नहुने भएको छ ।

प्रतीतपत्रमा भुक्तानीका शर्तहरूमा टीटी रिम्बर्समेन्ट बेसिस भएको खण्डमा प्रतीतपत्र खोलिने रकमको १० प्रतिशत धरौटी रकम लिएर मात्र प्रतीतपत्र जारी गर्नु पर्नेछ । यस व्यवस्था अन्तर्गत जारी भएका वि.वि.नि.फा.नं.४ सम्बन्धित भन्सार कार्यालयबाट प्रमाणित भई बैंकमा बुझाउनु पर्ने म्याद १२० दिन कायम हुनेछ ।


क्लिकमान्डु