अनिल शाहले भने- ऊर्जा क्षेत्र डुब्दा बैंकमात्रै डुब्दैन, नेपाली नै डुब्छन्



काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले ऊर्जा क्षेत्रमा भएको लगानी अनुसारको बजार नपाएको अवस्थामा बैंक तथा वित्तीय संस्था मात्रै नभई निक्षेपकर्ता समेत समस्यामा पर्ने बताएका छन् ।

उनले सिमेन्ट उद्योग बन्द भए केही फरक नपर्ने तर, ऊर्जा क्षेत्रमा भएको लगानी समस्यामा पर्यो भने त्यसले दीर्घकालीन प्रभाव पर्ने भन्दै समयमै सचेत हुन सम्वद्ध निकायको ध्यानकर्षण गराए ।

सेजनले आयोजना गरेको कार्यक्रममा उनले एउटा सिमेन्ट उद्योग भन्दा हुँदा खासै प्रभाव नपर्ने बताए । अन्य उद्योग बन्द हुँदा पनि कुनै असर देखिदैन, तर ऊर्जा क्षेत्रमा सामान्य समस्या मात्रै आयो भने त्यसले पार्ने प्रभाव थेगीसाध्ये नहुने बताए ।

‘ यहाँ एउटा बैंक डुब्ने भन्ने प्रश्न होइन, निक्षेपकर्ता डुब्छन् । नेपाली जनता डुब्छन्’ उनले भने ‘ऊर्जा क्षेत्रमा गरिएको लगानी डुब्दा हुने प्रभाव सोचको भन्दा धेरै ठूलो पर्नेवाला छ ।’ नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले ऊर्जा क्षेत्रमा धमाधम लगानी गरेको भन्दै सबैको सार्थक प्रयास भए मात्रै बिजुलीको खपत बढ्ने तथा भारत र बंगलादेशमा समेत बिजुलीको व्यापार हुने उनले बताए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ सापट लिँदै उनले भने ‘हामी सबै सँगै अगाडि बढ्यौ भने मात्रै यस क्षेत्रको सर्वोत्तम हित हुन्छ । अन्यथा यस क्षेत्रमा गरिएको लगानी के हुन्छ भन्न सकिदैन ।’

सरकार, राष्ट्रिय योजना आयोग, मन्त्रालय, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, लगानीकर्ता र नियमनकारी निकायको साझा प्रयत्न भएमात्रै ऊर्जाको क्षेत्रको समष्टिगत विकास हुने उनको भनाइ छ । नेपालको पानी समृद्धिको खानी भएकाले यस क्षेत्रमा थप लगानी पनि आउने र विकास पनि हुने उनको भनाइ थियो ।


क्लिकमान्डु