विद्याशुन्दर शाक्य भन्छन्- पार्टीले विश्वास गरे फेरि मेयर बन्छु



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्याशुन्दर शाक्यले पार्टीले विश्वास गरेको खण्डमा अर्को कार्यकालमा पनि मेयरमा उठ्ने बताएका छन् । महानगर दिवसका बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा मेयर शाक्यले यस्तो बताएका हुन् ।

‘मैले गरेको काम चित्त बुझेको भए, मैले सुरु गरेका काम अपुरो रहेका र त्यो काम यसैले पुरा गरो भनेर पार्टीले मलाई रोज्छ भने मैले नाई भन्ने कुरा हुँदैन’ उनले भने ‘अपुरो काम पुरा गर भनेर पार्टीले विश्वास गर्यो भने मैले हुँदैन भन्न मिल्दैन, मेरो काम पार्टीले कसरी हेरिरहेको छ भन्ने नै हो ।’

उनले पार्टीको निर्णय अनुसार अघि बढ्ने बताए । आफ्नो साढे ४ वर्षको अवधिमा ५४ वटा काम भएको र केही काम सुरु गरेको भन्दै त्यो यही कार्यकालमा पुरा नहुने बताए । ‘सुरु गरेको काम पनि मेरै नेतृत्वमा होस भन्छन् भने मैले हुँदै भन्न मिल्दैन’ उनले भने ‘यसको लागि पार्टीको निर्णय नै आधिकारीक हुन्छ ।’

कार्यक्रममा महानगरपालिकाका प्रमुख शाक्यले उपत्यका विकास प्राधिकरणलाई सबै कामको जिम्मा आफैले मात्रै लिनु उचित नभएको बताए । ‘उपत्यका विकास प्राधिकरण आफैँ कार्यकारी निकाय हो । उसको काम भनेको नीति बनाउन हो,’ शाक्यले भने ‘स्थानीय निर्माणसँगै सबै काम स्थानीय तहले गर्ने र त्यो अधिकार स्थानीय तहमा आएपछि त्यहि प्रकृतिको काम प्राधिकरणले नगरे हुन्छ भनेर उपत्यकाका सबै नगरका मेयरहरुको फोरमले त्यसको खारेजीको माग गरेको हो । अहिले पनि त्यो माग यथावत छ ।’

त्यसैरी उनले संघीय र प्रदेश सांसदहरुलाई पनि उनले सकेसम्म एकिकृत योजनासहित ठूला–ठूला योजनाका काम गर्न आग्रह गर्दै महानगरपालिकाले गर्ने काममा बजेट खर्च नगर्न सुझाव दिए । ‘माननीयज्युहरुको पनि बाध्यता छ । आफूलाई जिताएर पठाएका मतदाताको माग अनुसार र आफ्नो उपस्थिति देखाउन पनि ढल राख्ने, ब्लक छाप्ने जस्ता काम गर्नुपरेको छ,’ उनले भने, ‘सकेसम्म उहाँहरुले संसदकोषको बजेटबाट मिलेर ठूला–ठूला योजनाका काम गरिदिनुहोस् भन्ने छ । हामीले जुन काम गर्न बजेट विनियोजन गरेका छौँ । त्यही काम उहाँहरुले गर्दा खर्च बढ्ने र कामको डुब्लीकेशन हुनेभयो ।’

उनले चुनावी घोषणापत्रमा उल्लेख भएका केही कामगर्न नसकेको स्वीकार गरे । ‘हामीले चुनावी घोषणापत्रमा उल्लेख गरेका केही काम गर्न सकेका छैनौँ,’ उहाँले भन्नुभयो, ‘चक्रपथ विस्तारको काम सम्पन्न नहुँदा हामीले मोनोरेलको काम अघि बढाउन सकेनौँ । त्यसैगरी तीनकुनेको बुद्धपार्क निर्माण गर्ने कुरा पनि सरकारले मुआब्जाको विवाद मिलाउन नसक्दा समस्या भयो,’ उनले भने, ‘भृकुटी मण्डपमा निर्माण गर्ने मेगाहल निर्माणको काम पनि हामीले अघि बढाउन सकेका छैनौँ ।’ उनले महानगरपालिका भवन निर्माण सुरु भएको भन्दै केही सम्पदा पुर्ननिर्माणमा मुद्धा परेका कारण ढिलाई भएको जानकारी दिए ।


क्लिकमान्डु