भारतले सबैभन्दा बढी तरकारी निर्यात गर्नेमा नेपाल दोस्रो नम्बरमा



काठमाडौं । भारत सरकारले सबैभन्दा बढी तरकारी निर्यात गर्नेमा नेपाल दोस्रो नम्बरमा रहेको छ । पहिलो नम्बरमा बंगलादेशमा सबैभन्दा बढी तरकारी निर्यात गर्दै आएकोमा नेपाल दोस्रो नम्बरमा रहेको छ ।

भारत सरकारको कृषि मन्त्री शोभा करन्दलजेले आफ्नो ट्वीटर अकाउन्टमा ट्वीट गर्दै विश्वको नम्बर १ तरकारी निर्यातकर्तामा भारत रहेको दाबी गरेकी छिन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गर्दै सरकारका कृषि नीति र योजनाहरूले भारतको कृषि उत्पादकत्वमा उल्लेख्य वृद्धि गरेको बताइन् ।

‘अब भारत विश्वको तरकारी निर्यातकर्तामा नम्बर १ देश बनेको छ,’ उनले लेखेकी छिन् ।

साथै, उनले सन् २०२०/२१ मा भारतबाट सबैभन्दा बढी निर्यात गर्दै आएको ५ देशमा के-कति निर्यात भयो भन्नेबारे स्पष्ट तथ्याङ्क उल्लेख गरकी छिन् ।

पहिलो नम्बरमा बंगलादेशतर्फ निर्यात भएको तथ्याङ्कमा उल्लेख छ । जसमा भारत सरकारले सन् २०२०/२१ मा पहिलो नम्बरमा बंगलादेशमा मात्रै भारतीय मूल्य १० अर्ब ४ करोड रुपैयाँ बराबरको ६४ लाख ४८ हजार ३३४ मेट्रिक टन तरकारी निर्यात गरेको देखिन्छ ।

त्यस्तै, दोस्रोमा भारतले नेपालमा भारतीय मूल्य ६ अर्ब १० करोड रुपैयाँ बराबरको ४ लाख ३६ हजार २०८ मेट्रिक टन तरकारी निर्यात गरेको छ । त्यस्तै, तेस्रोमा यूएई, चौथोमा मलेसिया र पाँचौमा श्रीलंकामा उल्लेख्य तरकारी निर्यात गर्दै आएको जनाएको छ ।

नेपालको वैदेशिक व्यापारमा ठूलो योगदान रहेको भारत सरकारको नेपालमा आयातित वस्तुमा ठूलो हिस्सा रहेको छ । आयात तथा निर्यातमा ठूलो हिस्सा रहेको भारत सरकारसँग नेपालको ठूलो व्यापारघाटा पनि रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा नेपालले १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख रुपैयाँको वस्तु आयात गर्दा भारतबाट मात्रै ९ खर्ब ७१ अर्ब ६० करोड ३९ लाख रुपैयाँको आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

त्यसमा नेपालबाट १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँको निर्यात गर्दा १ खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ बराबरको निर्यात भएको तथ्याङ्कमा उल्लेख छ । जसमा गत वर्ष मात्रै नेपाल सरकारले भारतसँग ८ खर्ब ६५ अर्ब २३ करोड रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ ।

नेपालले गत वर्ष भारतबाट ९ खर्ब बराबरको वस्तु आयात गरेकोमा १५ अर्ब २७ करोड ७७ लाख रुपैयाँको तरकारी मात्रै आयात गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँदछ ।

साथै, चालु आर्थिक वर्ष तीन महिनाको अवधिमा ५ अर्ब ३३ करोड ८० लाख रुपैयाँको तरकारी आयात गरेको छ । भारतबाट मुख्य ५० आयात हुने वस्तुमा तरकारी ४९ नम्बरमा रहेको राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु