जडिबुटी कम्पनीले कर्मचारीलाई बाँड्यो बोनस, चार दसकमा पहिलोपटक नाफामा



काठमाडौं । नेपाल जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले ४० वर्षको इतिहास पहिलोपटक कर्मचारीलाई बोनस बाँड्न सफल भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा गरेको खुद नाफाबाट ७ लाख रुपैयाँ बोनसका रुपमा बाँडेको जनाएको छ ।

सरकारको पूर्णस्वामित्वमा २०३८ सालमा स्थापना भएको जडिबुटी कम्पनी अहिलेसम्म नाफामा जानसकेको थिएन ।

आर्थिक वर्ष २०७६/०७७ कम्पनीले १ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले हाल ५ प्रकार वस्तुहरु सन्चो, सन्चो बाम (भिक्स), सन्चो सेनिटाइजर, सिलाजित र पिडानासक तेल छन् ।

कम्पनीले शुक्रबार विज्ञप्ती जारी गर्दै लामो लकडाउनबीच पनि कम्पनी नाफामा गएको जनाएको छ । कोरोना संक्रमणकाबीच सन्चोको बिक्री बढेको छ ।

झन्डै तीन वर्षअघि कम्पनीमा नियुक्त भएका कार्कीले २८ वर्षदेखि हुन नसकेको साधारणसभा सम्पन्न भएको र समयमै लेखा परीक्षण गर्ने काम भइरहेको बताए । २०७६/०७७ को तुलनामा २०७७/०७८ मा नाफा वृद्धि हुने विश्वास उनको । गत वर्षको अन्तिम लेखा परीक्षण भइरहेको छ ।

पाँच उत्पादनमध्ये सबैभन्दा धेरै सन्चो बिक्री भइरहेको छ । दुई वर्षअघिसम्म २५ लाख गोटा उत्पादन भइरहेको सन्चो पछिल्ला वर्षमा उत्पादन वृद्धि हुदै चालु आर्थिक वर्षमा ७० लाख गोटा सन्चो उत्पादन हुने कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले बताए ।

गतवर्ष कम्पनीले झन्डै २० करोडको आफ्ना उत्पादनहरु बिक्री गरेको थियो । जसमा सबैभन्दा धेरै सन्चो १५ करोड ६० लाख बराबरको बिक्री भएको थियो । यो वर्ष बिक्री बढेर २० करोडभन्दा धेरै अर्को वर्षसम्म २२ देखि २४ करोडसम्म पुग्ने विश्वास कार्कीको छ ।

सन्चोको उत्पादन वृद्धि भएसँगै कम्पनी नाफामा गएको छ । पछिल्लो समय सन्चो बाम र सन्चो सेनिटाइजरको उत्पादन वृद्धि हुँदै गएको छ ।


क्लिकमान्डु