भारतमा मोदी सरकारको प्रचारमा मात्रै २७ अर्ब २० करोड खर्च, विपक्षीलाई छैन स्थान



एजेन्सी । राम्रो काम गरे प्रचार गर्नु नै पर्दैन । नराम्रो काम गरे स्वतः प्रचार भइ नै हाल्छ । संसारभरका सबै जसो सरकार काम नगरेपनि आफनो पक्षमा प्रचार भइदिओस् र सबैले राम्रो भनून भन्ने मान्यता राख्छन् । मानवीय स्वभाव पनि प्रचारको भोको हुने र रहनेमा नै केन्द्रित रहन्छ ।

त्यसमाथि अल्पकविकसित देशको हकमा भन्दा त सत्तामा रहनेहरु प्रचारका असाध्यै भोका रहन्छन् । एकाध काम गरेको हुन्छ, त्यसैलाई महिमामण्डन गरेर प्रचार गरिदिनुपर्ने उनीहरुको सोच हुन्छ र रहन्छ ।

जनपक्षीय काम गरे, स्वतः प्रचार हुन्छ र जनता आफैले सरकारको सहयोग गर्छन् भन्ने मान्यतामा उनीहरु विश्वास गर्दैनन् । बरु विकास निर्माणमा खर्च हुने बजेट काटेर नै भएपनि प्रचार प्रसारमा खर्च गर्छन् ।

भारत आफैमा लोकतान्त्रिक मुलुक हो । सबै विषयमा पारदर्शिता र खुल्लापनमा विश्वास गरिन्छ । तर यो मान्यता भारतका लागि अब एउटा कथा जस्तो भएको छ । सरकारको काम कारवाहीमा पनि त्यस्तै देखिन्छ । भन्नुपर्ने विषय भनिदैन, नभन्नुपर्ने विषयमा चर्कै प्रचार गरिन्छ । गर्नुपर्ने काम गरिदैन, नगर्नुपर्ने काम गरिन्छ ।

भारतभर झण्डै १४ करोड मानिस एक गाँस जुटाउनका लागि संघर्ष गरिरहेका छन् । सरकारले उनीहरुका लागि केही गरिदिनुपर्ने थियो । तर, कर्पोरेट संस्कारमा विस्तारित भएको नरेन्द्र मोदीको सरकार बिहारको गरिबलाई हेर्दैन, बरु प्रचारका लागि करोडौ भारु खर्च गर्न तयार हुन्छ । तालिमनाडुमा भीख मागिरहेका नागरिकलाई हेर्दैन, तर मोदीको प्रचारमा मोटो रकम खर्च गर्न तयार हुन्छ ।

खान नपाउनेलाई खान दिनु जस्तो पुण्यको काम अरु हुँदैन । रोग, भोक र शोकबाट बाहिर निकाल्नु सरकारको प्रमुख दायित्व हो र हुनुपर्छ , तर त्यतातिर सरकार लाग्दैन । सरकारले त्यसका बारेमा केही योजना ल्याउँदैन । ल्याएपनि कार्यान्वयन गर्ने संयन्त्रले काम गर्दैन ।

विवरणहरुमा जनाइएअनुसार भारतको मोदी सरकारले आफ्नो प्रचारका लागि मात्रै १७०० करोड भारु बराबरको विज्ञावन गरेको छ ।

नेपाली मुद्रामा हिसाब गर्दा २७ अर्ब २० करोड बराबरको रकम मोदी सरकारको जयजयकार गर्नमा खर्च भएको छ । त्यत्रो रकम खर्च गरिएको भए बिहारमा झण्डै ५०० वटा विद्यालय बन्न सक्थे ।

सुर्तीको गोदामहरुमा चल्ने धेरै विद्यालय बिहारमा छन् । असाध्यै कष्टका साथ नाम मात्रैको विद्यालय छन् । भारतका हजारौ गाँउहरुमा अझै पनि बिजुलीको सुविधा पुगेको छैन । तर, दिल्लीमा बस्ने सरकारले आफनो प्रशस्तीका लागि मोटो रकम खर्च गरेको छ । नागरिकले करमार्फत तिरेको रकम अनावश्यक काममा खर्च भएको छ ।

सरकारले पत्रपत्रिकामा मात्रै आफ्नो प्रचारका लागि ८२८ करोड भारु बराबरको खर्च गरेको छ । यस्तै, विद्युतीय सञ्चारमाध्यममा १९३.५२ करोड भारु बराबर खर्च गरेको छ ।

यस्तै, जुन २०१४ देखि २०१८ को मे सम्म ४ हजार ३४३ करोड भारु बराबरको खर्च गरिएको थियो । जुन २०१४ देखि मार्च २०१५ सम्म ९३४ करोड भारु बराबरको खर्च भएको थियो ।

पछिल्लो ३ वर्षमा काम कम प्रचार बढी गरिएको छ । अधिकांश भारतीय सञ्चारमाध्यमले आजकल मोदी र उनको सरकारको भन्दा अन्यको समाचार बजाउँदैन । समाचार बनाउँदैन । एकाध मिडियाले मात्रै आलोचनात्मक चेतका साथ समाचार सामग्री बनाउँछन् ।

आलोचकहरुले भारतीय मिडियालाई मोदी मेडियाको नाम दिएका छन् । केहीले भाजपाको प्रवक्ता समेत भन्न भ्याएका छन् । विरोधीको विचारलाई स्थान नै नदिने , केवल सरकार र सरकार पक्षको मात्रै धारणा सार्वजनिक गर्ने, उनीहरुलाई स्थान दिने काममा व्यस्त छन् अधिकांश मिडिया । देखिने गरी त २७ अर्ब २० करोड बराबरको खर्च भयो । अदृश्य रुपमा के कति मात्रामा खर्च गरियो होला भन्ने
यस्तै, कर्पोरेट क्षेत्रले गरेको खर्चको हिसाब के कति होला ? जानकारहरु भन्छन्– बेहिसाब नै छ ।

भारतीय लोकसभाको एक सवाल जवाफमा सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरका अनुसार २०१८ देखि २०२१ सम्म कूल १६९८.९८ करोड भारु बराबरको खर्च सरकारको प्रचारमा मात्रै खर्च भएको छ । संसदमा लिखित जवाफ पेश गर्दै उनले विज्ञापन गर्नुको ध्येय सरकारको नीति र योजनाका बारेमा आम मासिनलाई जागरुप बनाउनु हो ।

अनुराग ठाकुरका अनुसार सरकारले अत्याधिक मात्रामा योजना बनाएको छ । नीतिहरु लागू गरेको छ । देशका धेरै मानिस दूरदराजमा बस्छन् । ती मानिसका बीचमा सहजै सूचना पुर्याउने माध्यम भनेकै विद्युतीय र छापा माध्यम मात्रै हुन् ।

भारत सरकारले ६ हजार ८५ पत्रिकाका लागि ११८.५९ करोड भारु बराबरको खर्च गरेको छ । २०१९– २० मात्रै ५ हजार ३६५ पत्रिकाका लागि २०० करोड भारु बराबरको खर्च गरेको थियो । २०१८– १९ मा ६ हजार ११९ पत्रिकाका लागि नै सबैभन्दा बढी ५०७.९ करोड भारु बराबरको बराबरको खर्च गरिएको थियो । यस्तै प्रमुख शहरहरुमा राखिएको होर्डिङ बोृर्डमा ७९.७२ करोड भारु बराबरको खर्च गरिएको छ ।

नेपालमा पनि केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले आफ्नो प्रचारमा राम्रै खर्च गरेको थियो ।


क्लिकमान्डु