सरकारको आन्तरिक कारणले पुँजीगत खर्च हुन सकेन: अर्थसचिव मरासिनी



काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले सरकारको आन्तरिक कारणले पुँजीगत खर्च हुन नसकेको बताएका छन् ।

बिहीबार अर्थसमितिको बैठकमा सचिव मरासिनीले यस्तो बताएका हुन् । उनका अनुसार भौतिक पूर्वाधार मन्त्रालयले साउनमा गर्नुपर्ने महानिर्देशकको सरुवा असोजमा गर्दा पनि काम गर्न समस्या भएको बताए ।

उनका अनुसार कतिपय ठेकेदारले काम समयमा नै सकेको भएपनि कर्मचारी परिवर्तनले समयमा नै बिल भुक्तानी जस्ता आन्तरिक समस्याले अवस्था जटिल बन्दै गएको बताए ।

‘काम भइसकेको छ,’ उनले भने ‘काम सकेको बिल पनि छ, पैसा पनि छ, तर भुक्तानी हुन सकेको छैन ।’

यस्ता विभिन्न आन्तरिक कारण खर्चमा समस्या भएको दाबी छ ।

यता अर्थमन्त्री जनार्दन शर्माले प्रत्येक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने भनेका थिए । त्यसका लागि असारमा मात्रै ३५ प्रतिशत पुँजीगत खर्च गर्ने परम्परालाई तोड्न आवश्यक रहेको धारणा राखे ।


‘यो सिस्टमनै भएन’ उनले भने ‘अघिल्ला वर्षमा कार्यविधि पास गरेरै वर्षदिन बित्ने गरेको थियो । अहिले सम्बन्धि मन्त्रालयले पास गर्छ । त्यसो हुँदा पनि खर्च हुन नसक्दा मन्त्रालय पनि चिन्तीत भएको छ ।’

सचिव मरासिनीका अनुसार अहिले करिब ६ प्रतिशत बजेट खर्च भएको र गत आर्थिक वर्षको सोही अवधिमा ९.११ प्रतिशत खर्च भएको थियो । यो वर्ष बजेट होलिडेलगायतका कुराहरु उठेको स्मरण गराए ।

बैठकमा उनले यो वर्ष मूल्य अभिबृद्धि कर सोचे अनुसार उठन नसकेको दाबी गरे । पुस महिना कर उठाउने महत्वपूर्ण समय भएको भन्दै त्यो बेला मूल्य अभिबृद्धि कर बढ्नेमा केही अपेक्षा रहेको बताए ।


क्लिकमान्डु