पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री शर्मालाई भने- होस पुर्याएर बोल्नुहोस्



काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मालाई होस पुर्याएर बोल्न सुझाव दिएका छन् ।

बिहीबार अर्थसमितिमा भएको छलफलमा पाण्डेले अर्थमन्त्रीलाई भने, ‘होस पुर्याएर बोल्नुहोस्, मन्त्रीले बोल्दा २ सय गुणा बढी राजश्व उठाउने भन्नु भएको रहेछ, त्यो सम्भव हुँदैन ।’

अर्थमन्त्री शर्माले मासिक १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने भने पनि त्यो सम्भव नभएको बताए । पाण्डेले अन्तिम समयमा खर्च गर्ने चलन बन्द गर्नुपर्ने बताए ।

‘पुँजीगत खर्च भएन भनेर अर्थले डर मान्नु पर्दैन, भएन भनेर पनि भन्नुपर्छ, पुँजीगत खर्च बढाउनुको विकल्प छैन,’ उनले भने ।

पुँजीगत खर्च बढाउँदा रोजगारी पनि बढ्ने भएकाले यसको विकल्प नभएको उनको भनाइ छ ।

उनले वित्तीय व्यवस्थापनमा १९ प्रतिशत खर्च भएको बताउँदै अब पुँजीगत खचएमा जोड दिनुपर्ने बताए ।

‘जथाभावी पैसा खर्चेर हुँदैन, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनामा जोड दिनुपर्छ । तर अर्थमन्त्रालयको चासो त्यस्ता परियोजनमा कम छ । डीपीआर बनेपछि ठेक्का लगाउने काम पनि भएको छैन,’ उनले भने ।


क्लिकमान्डु