सेयर बजारमा बुझेर मात्रै लगानी गरौंः गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बुझेर मात्रै सेयर बजारमा लगानी गर्न आग्रह गरेका छन् । उनले कोरोना महामारीको समयमा अन्यत्र लगानी नहुँदा सेयर बजारमा लगानी ओइरिएको पनि बताए ।

बिहीबार अर्थसमितिमा भएको छलफलका क्रममा गभर्नर अधिकारीले सेयर बजारमा बुझेर मात्रै लगानी गर्न र यसका लागि पब्लिक सचेतना बढाउनु पर्ने भन्दै वित्तीय विवरण हेरेर मात्रै लगानी गर्न आग्रह गरेका हुन् ।

कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजारमा साना लगानीकर्ता घटेको बताए ।

‘साना लगानीकर्ता घटे, मार्जिन लोन पनि घट्यो ।बजार अनुमगन गर्न नसक्ने गरी घटे कसरी उत्साहित गर्ने हो,’ उनले भने ।

उनले कम्पनीको ग्रोथ कम भएको तर सेयर मूल्य बढेको बढ्यै गर्नु स्वभाविक नभएको समेत बताए । उनले राष्ट्र बैंकले सेबोनलाई नियन्त्रण गर्न भन्नुपर्ने समेत बताए ।

‘यस विषयमा राष्ट्र बैंकले सेबोनलाई भन्न सक्नुपर्छ । यसले साना लगानीकर्तालाई प्रोत्साहन नै गर्छ, सेबोनलाई भनेर हेरोस्,’ उनले भने ।

उनले स्वभाविक रुपमा मूल्य बढेको राम्रो भए पनि कसैले कार्टिलिङ त गरेको छैन भनेर हेर्नुपर्ने बताए ।

यता अर्थसचिव मधुकुमार मरासिनीले भने तीन वर्षमा सेयर बजारमा व्यापाक उछाल आएको बताए ।

‘नेप्से परिसूचक ११ सयबाट १३ सय हुँदै २५ सयसम्म पुग्यो, फेरि ३२ सय पुगेर अहिले २५ सयको हाराहारीमा आइपुगेको छ, यदि मार्जिन लोनको व्यवस्था नगरेको भए समस्या आउँथ्यो,’ मरासिनीले भने ।

मरासिनीले जलविद्युत् आयोजना निर्माण समपन्न नहुँदै कम्पनीको सेयर मूल्य बढेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले यसका लागि वित्तीय साक्षरतामा ध्यान दिनुपर्ने बताए ।


क्लिकमान्डु