बजेट खर्च गर्न नसकेको स्वीकार गर्दै अर्थमन्त्रीले भने- त्यसैले बैंकिङ प्रणालीमा तरलता अभाव भयो



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट खर्च हुन नसक्दा तरलता अभाव भएको स्वीकार गरेका छन् ।

अर्थमन्त्री भएपछि पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका प्रत्येक महिनामा १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने योजना बनाएका अर्थमन्त्रीले आफ्नै प्रतिबद्धता अनुसार काम गर्न नसकेको स्वीकार गरेका हुन् ।

अर्थमन्त्रीको योजना अनुसार मंसिर १५ गतेसम्म २५ प्रतिशत पुँजीगत खर्च हुनुपर्ने भए पनि हालसम्म जम्मा ५.५ प्रतिशत मात्रै पूँजीगत खर्च भएको छ ।

बिहीबार अर्थसमितिमा भएको छलफलका क्रममा बोल्दै मन्त्री शर्माले बजेट खर्च हुन केही ऐनमा सुधार भएपछि तरलता अभाव नहुने बताए ।

‘अहिले १६ अर्ब तरलता छ, राष्ट्र बैंकले १७९६ अर्ब एसएलएफबाट तरलता प्रवाह गरेको छ,’ उनले भने, ‘९० अर्ब रुपैयाासम्म बैंकलाई दिन सक्ने राष्ट्र बैंकको क्षमता छ,’ उनले भने ।

हाल १३१९ अर्ब विदेशी बिनिमय सञ्चिति रहेको र यसले ७.८ महिनाको वस्तु तथा सेवालाई धान्न सक्ने बताए ।

उनले सरकारले आवश्यक परे मात्रै ऋण लिने बताउँदै हाल ४१६ अर्ब राजश्व उठेकाले पैसाको अभाव नभएको समेत बताए ।

‘ऋण उठाउन आवश्यक छैन, गत आवको तुलनामा ४० प्रतिशतले राजश्व बढेको छ,’ उनले भने ।


क्लिकमान्डु