महिलाको सुरक्षा, सम्मान र रोजगारी सरकारको प्राथमिकताः मन्त्री श्रेष्ठ



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले महिलाको सुरक्षा, सम्मान र रोजगारीलाई सरकारले प्राथमिकता दिएको बताएका छन् ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले काठमाडौंमा आयोजना गरेको तेस्रो महिला सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले राज्यका हरेक निकायमा महिलाहरूको समान सहभागिता, मर्यादित रोजगारी र कार्यस्थलमा महिला हिंसा न्युनिकरणका लागि सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

मन्त्री श्रेष्ठले संगठित तथा असंगठित क्षेत्रमा कार्यरत महिलाहरुलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउन सरकार प्रतिवद्ध रहेको बताए ।
रोजगारीमा महिलाका लागि आरक्षणको व्यवस्थाले महिलाको प्रतिनिधित्व बढाउनुका साथै महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

सबै क्षेत्रका श्रमिकका लागि उचित श्रम अभ्यास, आधारभूत श्रमिक अधिकार र सामाजिक सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताउँदै मन्त्री श्रेष्ठले ज्यालामा असमानता रहेको अनौपचारिक क्षेत्रमा महिला कामदार बढी रहेकोले उनिहरूको समस्या सम्वोधन गरिने बताए । आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका महिलाहरूले अवसर प्राप्त गर्ने गरी रोजगारी वृद्धि गर्नुपर्ने उनले उल्लेख गरे ।

कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यमान ऐन–कानुनको प्रभावकारी कार्यान्वयनका साथै महिलाहरूमा आत्मविश्वास बढाउन, व्यावसायिक सीप तथा क्षमता विकास गर्नुका साथै हिंसा, शोषण र भेदभावको अन्त्य गरी कार्यक्षेत्र महिलामैत्री बनाउनुपर्ने बताएका छन् ।


क्लिकमान्डु