वाणिज्य बैंकमा तरलता अभाव चुलिँदै, सीडी रेसियो ९१ प्रतिशत नजिक



काठमाडौं । वाणिज्य बैंकमा पैसाको अभावका कारण लगानीयोग्य रकम (तरलता)को चरम अभाव सिर्जना भएको छ । बैंकमा पैसा नभएपछि कर्मचारीहरुलाई निक्षेप खोज्न भ्याइनभ्याइ छ ।

कुनै पनि व्यक्ति बैंकमा आफूले राखेको निक्षेप निकाल्न गयो भने बैंकहरुले केही समयका लागि ननिकालिदिनु भनेर बिन्ती बिसाउने अवस्था आएको छ ।

एक निक्षेपकर्ताका अनुसार आफूले बैंकका राखेको निक्षेपको अवधि पूरा भएर निकाल्न जाँदा बैंकले केही समयमा लागि समय थपिदिन आग्रह गर्न थालेका छन् ।

उनका अनुसार बैंकले अहिले तरलता अभाव भएको कारण देखाउँदै आफूलाई यस्तो आग्रह गरेको बताए ।

कोरोनाको समयमा बैकमा पैसा बढी भएर लगानीगर्ने ठाँउ नहुँदा सेयर लगानीकर्तालाई नै बोलाएर भएपनि धमाधम कर्जा दिने बैंकहरु अहिले कर्जा दिन मात्रै नभएर पुनर्कर्जा दिन समेत नसक्ने अवस्थामा पुगेका छन् ।

मौद्रिक नीतिले २०७९ असार मसान्तसम्म पुर्याउनु पर्ने कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत अहिले नै ९१ प्रतिशत पुगेको छ ।

आगामी असार मसान्तसम्म पुग्नेपर्ने सीडी ९१ प्रतिशत अहिले नै पुगिसकेको छ । जसले गर्दा बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् ।
नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमा सीसीडी रेसियोलाई हटाएर सीडी रेसियो लागू गरेको थियो । जसमा अगामी असार मसान्तमा सीडी रेसियो ९० प्रतिशत हुनुपर्ने उल्लेख छ ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबा नै बैंकहरुको सीडी रेसियो ९१ प्रतिशत पुगिसकेको छ । तर मंगलबार भने केही घटेको छ । बैंकमा थोरै निक्षेप थपिएपछि सीडी रेसियो केही घटेको हो ।

सोमबार ९१ प्रतिशत रहेको सीडी मंगलबार ९०.८९ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार सोमबारसम्म वाणिज्य बैंकमा कुल निक्षेप ४२ खर्ब ३१ अर्ब रुपैयाँ रहेको थियो । एकै दिन ३ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा थपिँदा मंगलबार ४२ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ ।

त्यसैगरी सोमबार वाणिज्य बैंकबाट कर्जा प्रवाहमा ४० खर्ब ७४ अर्ब रुपैयाँ रहेकोमा मंगलबार एकै दिन ३ खर्ब रुपैयाँले घटेर ४० खर्ब ७१ अर्ब रुपैयाँ रहेको छ । मंगलबार अन्तर बैंक ब्याजदर ४.९८ प्रतिशत रहेको छ । लामो समयदेखि अन्तर बैंक ब्याजदर एकै बिन्दुमा रहेको छ ।


क्लिकमान्डु