अन्तर्राष्ट्रिय समुदायको सहयोगले भूकम्पपछिको पुनर्निर्माण सहज भयोः राष्ट्रपति भण्डारी



काठमाडौं । २०७२ बैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि, अनुभव तथा सिकाई आदानप्रदान गर्न आयोजित नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन-२०७८ को राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय समुदायले खुला हृदयका साथ गरेको सहयोग नेपालले तय गरेको भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापना कार्यको कार्यान्वयनका निम्ति कोशेढुंगा सावित भएको बताइन । उनले अन्तर्राष्ट्रिय समुदायबाट प्रतिबद्धता गरेअनुसारको अधिकांश सहयोग प्राप्त भइरहेकोमा हर्ष व्यक्त गरिन् ।

‘भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका क्रममा हामीले प्राप्त गरेका अनुभव तथा सिकाईहरु अन्तर्राष्ट्रिय समुदाय तथा हाम्रै भावी पुस्ताका लागि अनुकरणीय हुनेछन्’ उनले भनिन् ‘यस सन्दर्भमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण कार्यसँग सम्बन्धित सबै पक्षलाई संलग्न गराई तयार पारेका दस्तावेजहरु विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका क्षेत्रमा लाग्ने जो कसैका लागि महत्वपूर्ण ज्ञानका भण्डारका रुपमा रहनेछन् भन्ने मेरो विश्वास छ ।’

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पुनर्निर्माणबाट निर्णय क्षमता, नयाँ प्रविधि एवं दक्ष जनशक्ति उत्पादन भएको बताए । शर्माले विपद् व्यवस्थापन तथा पुनर्निर्माणमा उच्च राजनीतिक समझदारी तथा मित्र राष्ट्रहरुको सहयोग असाध्यै महत्वपूर्ण हुने उल्लेख गर्दै बाँकी रहेका केही कार्यहरु सरकारका नियमित संयन्त्रमार्फत् सम्पन्न गर्ने व्यवस्था गरिएको जानकारी दिए ।

कार्यक्रममा परारष्ट मन्त्री डा. नारायण खड्काले दातृ निकाय तथा विकास साझेदारहरुको सहयोगले नेपालीको पुनर्निर्माण अगाडि बढाउने आत्मविश्वास र उत्थानशीलतामा महत्वपूर्ण टेवा दिएको बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विकास साझेदारलगायत सबै सरोकारवालाका सहयोगमा पुनर्निर्माण मूलभूत रुपमा सम्पन्नताको चरणमा पुगेको उल्लेख गर्दै आगामी दिनमा पुनर्निर्माण तथा विपद् व्यवस्थापनका कार्यहरु गर्दा राजनीतिक नेतृत्व दृढ प्रतिबद्धता, सबै पक्षबीच समझदारी, अधिकारसम्पन्न स्वायत्त निकाय, समुदायको परिचालन एवं सबैलाई समेट्ने नीति लिइनुपर्ने बताए ।

कार्यक्रममा १० वटा विषयगत सत्रहरु सम्पन्न भएका छन् । बिहीबार थप १० वटा सत्रहरु सम्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्मेलनको समापन गर्ने कार्यक्रम रहेको छ ।


क्लिकमान्डु