आगामी वर्षको बजेट तयारीमा जुट्यो राष्ट्रिय योजना आयोग



काठमाडौं । राष्ट्रिय योजना आयोग आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको प्रारम्भिक तयारीमा जुटेको छ ।

बजेट तर्जुमा गर्नका लागि आवश्यक मार्गदर्शनको मस्यौदा तयार पारी सम्बन्धित मन्त्रालयमा पठाउने प्रारम्भिक चरणको काम भइरहेको राष्ट्रिय योजना आयोगले जानकारी दिएको छ ।

योजना आयोग स्रोतका अनुसार पुसको १५ गतेभित्र स्रोत कमिटीको बैठक बस्नुपर्ने भएकाले त्यसका लागि आवश्यक तयारी भइरहेको छ । यसका लागि आर्थिक व्यवस्थापन महाशाखाबाट काम अगाडि बढेको छ ।

‘आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको प्रारम्भिक काम शुरु भएको छ । पुस १५ गतेभित्र स्रोत कमिटीको बैठक बस्नुपर्ने भएकाले त्यसका लागि आर्थिक व्यवस्थापन महाशाखाले काम अगाडि बढाएको छ,’ स्रोतले भन्यो ।

त्यसैगरी अर्थ मन्त्रालयअन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखाले पनि प्रारम्भिक चरकाणको काम शुरु गरेको छ । योजना आयोगलाई उपलब्ध गराउनु पर्ने आवश्यक तथ्यांकहरु संकलनको गर्ने काम मन्त्रालयले थालेको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार योजना आयोगले मध्यमकालीन खर्च संरचनाको खाका आर्थिक अनुशासन, कार्यान्वयन क्षमता, विनियोजन कुशलता र समष्टिगत आर्थिक स्थायित्व कायम हुने गरी समष्टिगत वित्त खाका, बजेट खाका र नतिजा खाका समावेश गरी माघ मसान्तभित्र तयार गर्नु पर्नेछ ।

मध्यमकालीन खर्च संरचनाको खाकाको आधारमा मन्त्रालयहरुले आयोजना वा कार्यक्रमको क्रियाकलापगत विवरण, प्रति एकाइ लागत, कार्यन्वयन अवधि र अपेक्षित प्रतिफल, तीन आर्थिक वर्षको आयोजना वा कार्यक्रमगत अनुमानित वार्षिक बजेट, गत आर्थिक वर्षको यथार्थ खर्च र चालु आर्थिक वर्षको विनियोजन सहितको बजेट खाका, तीन आर्थिक वर्षमा हासिल हुने अपेक्षित प्रतिफल, असर र प्रभावसहितको नतिजा खाका आदि विवरण समावेश गरी मध्यकालीन खर्च संरचना तयार गरी फागुन मसान्तभित्र योजना आयोग र अर्थमन्त्रालयमा पठाउनु पर्ने व्यवस्था छ ।

योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा राष्ट्रिय स्रोत कमिटी बन्ने समग्र बजेटको सिमा निर्धारण गर्ने गर्दछ । त्यस्तै यो कमिटीले मन्त्रालयहरुको सिमा पनि निर्धारण गर्ने गर्दछ ।

संवैधानिक व्यवस्थाअनुसार संघीय बजेट जेठ १५ गते, प्रदेश बजेट असार १ गते र स्थानीय तहको बजेट असार १० गते ल्याउनु पर्छ ।


क्लिकमान्डु