अर्थशास्त्र के हो मलाई थाहा छैन, तर मुलुक आत्मनिर्भर हुनुपर्छः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अटो मोबाइल क्षेत्रको राजश्वमा भइरहेको २५ प्रतिशत योगदान घटाउनुपर्ने बताए । उनले २५ प्रतिशत प्रत्यक्ष योगदानलाई घटाएर अप्रत्यक्ष योगदान ५० प्रतिशत बनाउन समेत आग्रह गरेका छन् ।

‘म यहाँको २५ प्रतिशत योगदानलाई घटाउन चाहन्छु, यहाँको सहमति छ वा छैन थाहा छैन । प्रत्यक्षतर्फको २५ प्रतिशत योगदान घटाएर अप्रत्यक्ष योगदान ५० प्रतिशत बनाउन चाहन्छु,’ उनले भने ।

नाडाको ४५औं वार्षिक साधारणसभा बोल्दै उनले आयातभन्दा पनि अब नेपालमै सवारी साधन उत्पादनमा जोड दिनुपर्ने बताए ।

उनले आफूले अर्थशास्त्र नजानेको समेत बताए ।

‘म अर्थशास्त्र जानेको मान्छे होइन, अर्थशास्त्र नजानेको मान्छेले अर्थमन्त्रालय कसरी चलाउँछ भन्ने पनि चर्चा सुनेको छु । अर्थशास्त्र भनेको के होला ? मलाई थाहा छैन । मलाई यो देशलाई आत्मनिर्भर बनाउनका लागि कुन बाटो अपनाउने हो भन्ने मलाई थाहा छ,’ उनले भने ।

यो देश सम्पन्न र आत्मनिर्भर नभइ जनताले सेवा सुविधा नपाउने उनले बताए । उनले यहाँको व्यापार व्यवसाय अगाडि नबढाइ पनि केही नहुने बताए ।

अहिले आयातमा प्रतिबन्ध लाग्छ कि भन्ने त्रास पनि छ । प्रतिबन्ध लगाउन सकिन्न । तर स्वदेशी उत्पादनलाई प्रतिष्पर्धी बनाउन सकिने बताए ।

‘आयातमा प्रतिबन्ध लगाउन सकिन्न, विभिन्न ऐन कानूनले पनि दिँदैन, तर स्वदेशी उत्पादनलाई प्रतिष्पर्धी बनाएर आयात कम गराउन सकिन्छ,’ उनले भने ।

उनले यही सवारी साधन उत्पादन गरे विद्युतमा सहुलियत दिने भन्दै जग्गा उपलब्ध गराउने, न्यनूतम उद्योग सञ्चालन हुने ग्यारेन्टी दिने प्रतिबद्धता जनाए ।

‘आजका दिनमा प्रविधि हामीसँग उपलब्ध छ, प्राविधिक, श्रम, जमिन र बजार उपलब्ध छ भने यहाँहरुले नेपालमै सवारी साधन उत्पादन गर्नुपर्छ,’ उनले भने ।

उनले न्यूनतम सेवा सुविधा आमजनताले पाउनुपर्ने भन्दै न्यूनतम सुविधामा समानता हुनुपर्ने बताए । न्यूनतम सुविधा सबैले प्राप्त गरिसकेकपछि प्रतिष्पर्धा अझैं उचाइमा पुर्याउन सकिने बताए ।

‘के फरक ढंगले हामी व्यवासयलाई उठाउन सक्छौं त ?,’ उनले भने, ‘यो मेरो प्रस्ताव मात्रै हो अर्थमन्त्रालय घेरा हाल्न आउन पर्दैन ।’

उनले अहिले नेपालले भोगिरेको गरिबी, बेरोजगारी तथा व्यापार घाटाको समस्या समाधान गर्नका लागि सबैले ध्यान दिनुपर्ने बताए ।

विद्युत् र श्रम शक्ति अहिले हाम्रो सबैभन्दा बलियो पक्ष हो यसलाई नाडाले उपभोग गर्नुपर्ने बताए ।

उनले नीतिगत अस्थिरता हटाउने भन्दै नाडालाई काम गर्न आग्रह गरे ।

मन्त्री शर्माले अब विद्युतीय चार्जिङ स्टेसन बनाउनमा सरकारले जोड दिने समेत बताए ।

‘अब सबै पेट्रोल पम्पलाई विद्युतीय चार्जिङ स्टेसनमा बदल्नुपर्छ । त्यसको सहज प्रविधि पनि विकसित भइसकेको छ,’ उनले भने, ‘त्यसो गर्न सकिए सबैको भलो हुनेछ ।’


क्लिकमान्डु