एकर्ड फर्मास्युटिकल्सले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल नियुक्त



काठमाडौं । एकर्ड फर्मास्युटिकल्सले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका दरले ४ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गर्नका लागि ग्लोवल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

मंसिर २१ गतेका दिन ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा एकर्ड फर्मास्युटिकल्सको तर्फबाट अध्यक्ष विशाल पण्डित र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन् ।

अधिकृत पुँजी ६५ करोड रुपैयाँ र जारी पुँजी ४८ करोड रुपैयाँ रहेको फर्मास्युटिकल्सको केन्द्रीय कार्यालय काठमाडौंको तीनकुनेमा छ भने ललितपुरको महालक्ष्मी नगरपालिकास्थित लुभूमा औषधि उत्पादन गर्ने कारखाना छ ।

नेपालका औषधि तथा औषधीजन्य सामग्रीहरुको कारोबारमा लामो समय संलग्न रहेका व्यक्तिहरु तथा अन्य बिभिन्न क्षेत्रका बिज्ञद्वारा प्रवर्द्धित फर्मास्युटिकल्स कम्पनी २०७० सालमा स्थापना भएको हो ।

कूल बिल्ट अप एरिया ६० हजार वर्गफिट रहेको उद्योगको भवनबाट बिशिष्ट र बिभिन्न प्रकारका गुणस्तरीय औषधिहरु बजारमा ल्याइसकेको यस उद्योगले स्वदेश मात्र नभई विदेशमा समेत निर्यात गर्ने लक्ष्यसहित उत्पादन तथा बिक्री वितरणको आवश्यक व्यवस्था मिलाएको छ ।

हाल मुलुकमा औषधि उत्पादन गरिरहेका थुप्रै कम्पनीमध्ये यो फर्मास्युटिकल्स कम्पनी सर्वसाधारणमा सेयर जारी गर्ने नेपालकै पहिलो औषधि उत्पादक कम्पनी बनेको छ ।


क्लिकमान्डु