नेकपा माओवादी केन्द्र समाजवादीद्धारा एमसीसी खारेज गर्न आन्दोलनका कार्यक्रम घोषणा



काठमाडौं । कर्णजित बुढाथोकी नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्र समाजवादीले एमसीसी खारेज गर्नका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै समाजवादीले राष्ट्रघाती एमसीसी सम्झौता लागु नगर्न जोडदार माग गर्दै जबरजस्ती संसदबाट पास गरेमा कडा जनसंघर्षमा उत्रिने चेतावनी दिएको हो ।

कार्यक्रममा एमसीसी सम्झौता विरुद्ध जनप्रदर्शन, धर्ना, घेराउ, आमसभा सञ्चालन गर्दै आइरहेको समाजवादीले मंसिर २३ गतेबाट ७ वटै प्रदेशमा जनताको हस्ताक्षर अभियान संचालन गर्ने भएको जानकारी दिएको हो । समाजवादीले हस्ताक्षर कार्यक्रम सफल पार्न सम्पुर्ण राजनीतिक दल, नागरिक समाज, आम नेपालीलाई आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ ।

कार्यक्रममा अध्यक्ष बुढाथोकीले नेपाल र नेपाली जनताको हितमा एमसीसी सम्झौता नभएको दाबी गरे । उनले सम्झौता नेपालको परराष्ट्र नीतिको विरुद्धमा भएको जिकीर गरे । नेपालमा मात्र अमेरिकी ७२ वटा आइएनजिओ भएको भन्दै उनीहरुको बारेमा आफुहरुले विरोध नगरेको बताए ।

डिसेम्बर १४ मा अमेरिकामा एमसीसी सम्बन्धि बैठक हुने जानकारी दिँदै उनले भने, ‘डिसेम्बर १४ मा अमेरिकामा एमसीसी सम्बन्धि बैठक हुँदैछ र नेपालमा पनि सोही दिन संसदको अधिवेशन हुँदैछ । यही विषयलाई लिएर अमेरिकामा र नेपालमा जुन बहस हुँदै छ यसैलाई आधार बनाएर देशका सच्चा नेपालीहरु र राजनीतिक दलका नेताहरु समयमै ऐतिहासिक पहलकदमीमा अघि बढ्नुपर्ने बेला भएको छ ।’

बुढाथोकीले मंसिर २८ गते संसदबाट पास गराउन अमेरिकी सरकारले अन्तिम अल्टिमेटम दिएको भन्दै सोही अल्टिमेटम अनुसार शेरबहादुर देउवा सरकारले २८ गते नै संसद अधिवेशन आह्वान गरेकोमा उनले आपत्ति जनाए ।

जटिल र संवेदनशिल राजनीतिक घटनाक्रमलाई मध्य नजर गर्दै देउवा सरकार समक्ष राष्ट्रघाती एमसीसी सम्झौता लागु नगर्न जोडदार माग गर्नुको विकल्प नरहेको पनि उनको भनाई थियो । उनले आम जनताको तिव्र विरोध र आपत्तिको बाबजुद पनि जबरजस्ती संसदबाट एमसीसी सम्झौता पास गराएको खण्डमा आफ्नो पार्टी कडा भन्दा कडा जनसंघर्षमा उत्रिन बाध्य हुने समेत चेतावनी दिए ।


क्लिकमान्डु