सुदूरपश्चिम प्रदेशमा निक्षेप २०.२, कर्जा प्रवाह ३६.२ % ले बढ्यो, घरजग्गा रजिष्ट्रेशन ११.७५ प्रतिशतले वृद्धि



काठमाडौं । नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७७÷०७८ को प्रतिवेदन सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाको २०७८ असार मसान्तसम्मको निक्षेप २०७७ असार मसान्तको तुलनामा २०.२ प्रतिशत र कर्जा प्रवाह ३६.२ प्रतिशतले वृद्धि भएको छ ।

राष्ट्र बैंकका अनुसार प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जाको ९.६५ प्रतिशत कर्जा कृषि क्षेत्रमा मात्रै गएको छ ।
असार मसान्तसम्म उक्त प्रदेशमा विभिन्न जलविद्युत आयोजनाहरुबाट ५२ मेगावाट विद्युत उत्पादन भई राष्ट्रिय प्रशारणमा जोडिएको छ ।

असार मसान्तसम्म प्रदेशको पहाडी जिल्लाहरु मध्ये बैतडी जिल्लामा हवाई सेवा सुचारु भएको छ भने बझाङ, बाजुरा र डोटी जिल्लामा अवरुद्ध हवाई सेवा पुनः सुचारु भएको छ । यो अवधिमा यातायात साधन संख्या १८.७ प्रतिशतले वृद्धि भएको छ ।

यस प्रदेशमा ठूलो लगानीका नयाँ होटलहरु सञ्चालनमा नआएतापनि कतिपय जिल्लामा केही होटलहरु पूर्ण रुपमा बन्द भएका कारण समग्रमा पर्यटकस्तरीय होटल तथा लज संख्यामा ४.४ प्रतिशतले र शैया संख्यामा १.२ प्रतिशतले ह्रास आएको छ । असार मसान्तसम्म घरजग्गा रजिष्ट्रेशन संख्या ११.७५ प्रतिशतले वृद्धि भएको छ भने रजिष्ट्रेशनबापतको राजस्व १६१.३५ प्रतिशतले वृद्धि भएको छ ।

राष्ट्र बैंकका अनुसार प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम्फलफूल तथा मसला) ले ढाकेको भू–क्षेत्र ०.१८ प्रतिशतले वृद्धि भएको छ भने यस्ता बालीको उत्पादन ७.२६ प्रतिशतले बढेको छ । प्रमुख खाद्य तथा अन्य बालीमध्ये सवैभन्दा बढी आलुको उत्पादन १७.६९ प्रतिशतले वृद्धि भएको छ भने तेलहन उत्पादन १३.४६ प्रतिशतले ह्रास आएको छ । तरकारी उत्पादन २३.८२ प्रतिशत तथा फलफूल तथा मसलाको उत्पादन ४.८५ प्रतिशतले बढेको छ । पशुजन्य उत्पादन अन्तर्गत दूध ६.४८ प्रतिशत, मासु ०.७५ प्रतिशत, अण्डा १.३० प्रतिशतले बढेको छ ।

असार मसान्तसम्म अध्ययनमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ४७.२७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त उद्योगहरुको औसत क्षमता उपयोग ४४.५० प्रतिशत रहेको थियो । औद्योगिक उत्पादनमध्ये तोरीको तेल, दूध, चामल र ईटाको उत्पादनमा वृद्धि भएको छ भने अन्य वस्तुहरूकोउत्पादनमा ह्रास आएको छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको औद्योगिक कर्जा कुल प्रवाहित कर्जाको २१.४ प्रतिशत रहेको छ ।


क्लिकमान्डु