नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ओम्रिकोन



काठमाडौं । नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ओम्रिकोन भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको नयाँ भेरियन्ट ओम्रिकोन भेटिएको बताएको छ ।

कोभिड–१९ को भाइरसमा उत्परिवर्तित भेरिएन्टलाई ओमिक्रोन नाम दिइएको छ । यो भेरीएन्ट पहिलो पटक २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो ।

मङ्सिर ३ गते नयाँ भेरिएन्ट पुष्टि भएको देश हुँदै एक ६६ बर्षीय बिदेशी नागरिक नेपालको त्रिभुवन अन्तरराष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका थिए । आउदा पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पुरा गरेको पाइएको थियो । उनको सम्पर्कमा आएका एक ७१ बर्षिय व्यक्ति र स्वयं आफैलाई मंसिर ७ गते कोभिड–१९ संग मिल्दाजुल्दा लक्षणहरु देखिएको थियो ।

परिक्षण गर्दा कोभिड–१९ को नतिजा पोजिटिभ आएको थियो । कोरोना–१९ परीक्षणमा पोजिटिभ आएकाहरुको एस–जिनी परीक्षण गर्नु पर्ने भएकोले उक्त परीक्षण गर्दा दुवै जनामा मंसिर १९ गते राति कोरोनाको नयाँ भेरिएन्ट ओम्रिकोन नेपालमा पहिलो पटक पुष्टि भएको छ ।

हाल दुवै जना सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा रहेका छन् । उक्त दुई व्यक्तिहरुसंग सम्पर्कमा आएकाहरुको बृहत रुपमा कन्ट्याक्ट ट्रेसिंग गरिएको, कन्ट्याक्ट ट्रेसिंगबाट प्राप्त ६६ जना सम्पर्कहरुको पीसीआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको, सबै स्वस्थ रहेको पाइएको छ ।

मन्त्रालयले जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना (मास्कको सही प्रयोग, भौतिक दुरी कायम गर्ने, भिडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने) र खोपको प्रयोग महत्वपूर्ण हुने भएकोले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागिता हुनु अनुरोध गरेको छ ।

हालसम्म यो भेरिएन्ट विश्वका ३५ देशहरुमा फैलिसकेको जानकारी प्राप्त भएको छ । आजसम्म ५७४ जना ओमिक्रोन भेरिएन्टबाट संक्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमीक्रोनको उच्च जोखिम रहेको उल्लेख छ । दक्षीण एशियाका केहि देशहरुमा समेत यो भेरिएन्ट पुष्टि भैसकेको छ ।

यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा बैज्ञानिक तथ्यहरूको खोज भैरहेको छ । यसको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले विभिन्न प्रयासहरू जारी राखेको जनाएको छ ।

नेपालले अन्तरराष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगटिभ पीसीआर रिपोर्ट अनिवार्य गरेको, खोपको विवरण लिने गरेको, लक्षण तथा चिन्हहरूको जाँच गर्ने व्यवस्था गरेको तथा हवाई र स्थल नाकाहरू भई प्रवेश गर्ने पूर्ण मात्रा खोप नलगाएका र शंकास्पद सबै यात्रुहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको मन्त्रालयले जानकारी गराएको छ ।

न्टिजेन परीक्षणमा पोजिटिभ फेला परेकाहरुको नमुना संकलन गरी पीसीआर गर्ने र संकास्पद नमुनाहरुको जिनी सिक्वेनसिङ गर्ने गरिएको छ । यसका साथै बिगत एक महिना अगाडी देखी पोजिटिभ भएका नमुनाहरुको थप परिक्षण गर्ने गरिएको छ ।


क्लिकमान्डु