अध्यक्ष नभएपनि बोर्डले आइपीओ निष्काशनको लागि अनुमति दिने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले पाइपलाइनमा रहेका कम्पनीलाई सेयर निष्काशन (सार्वजनिक निष्काशन) गर्न अनुमति दिने भएको छ ।
बोर्डमा अध्यक्ष नहुँदा रोकिएका आइपीओ निष्काशनको लागि सञ्चालक समितिले फाइल मगाउने निर्णय गरेको छ ।

बोर्डका पाइललाइनमा रहेका आइपीओ, ऋणपत्र, हकप्रद लगायत सार्वजनिक निष्काशन खुला गर्ने भएको छ । सार्वजनिक निष्काशनको लागि योग्य रहेका कम्पनीहरुलाई बोर्डले सञ्चालक समितिमा लैजाने छ । सञ्चालन समितिले निष्काशनको लागि अनुमित दिने निर्णय गरेपछि बोर्डले अनुमति दिने छ ।

बोर्डमा अध्यक्ष नहुँदा लामो समयदेखि सार्वजनिक निष्काशन हुन सकेको थिएन । बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना सर्वोत्तम सिमेन्ट प्रकरणमा परेर बोर्डबाट बर्खास्त गरेपछि सार्वजनिक निष्काशन हुन सकेको छैन ।

सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती गर्न समय लगाउने देखिएपछि सञ्चालक समितिले निष्काशन योग्य कम्पनीलाई निष्काशनको लागि अनुमति दिने र सम्बन्धित कम्पनीको फाइल ल्याउनु भनेपछि बोर्डले उक्त काम अघि बढाएको हो । धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा पनि बोर्डले उक्त निर्णय गर्ने भनेको छ । सोही अनुसार काम अघि बढ्न लागेको हो ।

हाल बोर्डको पाइपलाइनमा २५ कम्पनीको ६ अर्ब ८० करोड ७६ लाख ४०० रुपैयाँको ६ करोड १३ लाख ५५ हजार ४ कित्ता आइपीओ, ३ वटा कम्पनीको ५ अर्ब २० करोडको ५२ लाख कित्ता ऋणपत्र र ७ वटा कम्पनीको १ अर्ब ६५ करोड २८ लाख ६४ हजार ६०० रुपैयाँको १ करोड ६५ लाख २८ हजार ६४६ रुपैयाँको हकप्रद सेयर पाइपलाइनमा रहेको छ ।


क्लिकमान्डु