बरेङ गाउँपालिका जोड्ने सडक कालोपत्र



बलेवा । कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकअन्तर्गत जैमिनी नगरपालिका–१० राङ्खानीदेखि बरेङ गाउँपालिका–१ चित्रेसम्मको सडक स्तरोन्नति तथा कालोपत्रेको काम शुरु भएको छ । गण्डकी प्रदेश सरकारको पालिका मुकाम जोड्ने सडक कालोपत्रे गर्ने योजनाअन्र्तगत यो सडकको ११ किलोमिटर खण्डको काम शुरु भएको हो ।

दुई वर्षमा कालोपत्रको काम सक्ने गरी सडक स्तरोन्नतिको जिम्मेवारी पाएको निर्माण कम्पनीले धमाधम काम थालेको छ । चालु आर्थिक वर्षमा सम्झौता भएको सडकको पहिलो चरणमा फराकिलो बनाउने काम थालिएको निर्माण कम्पनी रौताहा खानी धुलिखेल जेभी कन्ट्रक्सनका साइड इञ्चार्ज खेमराज सुवेदीले जानकारी दिए ।

‘अहिले ६ वटा मेसिनले काम गरिरहेका छन्, आवश्यक गिट्टी, कङ्क्रिट तयार गर्ने काम भइरहेको छ,’ उनले भने, ‘मजदुर आइपुगेका छन्, अब मजदुरले गर्ने काम शुरु हुन्छ ।’

बरेङलाई सदरमुकाम र प्रदेश राजधानीसँग जोड्ने छोटो दूरीको सडक भएकाले समयमा निर्माणको काम सक्न दबाब छ ।

विसं २०५४ मा नक्साङ्कन गरिएको यो सडकको १५ वर्षअघि ट्याक खुलेको थियो । बागलुङको मालढुङ्गादेखि कुश्मीशेरा खण्डमा बिभिन्न क्लस्टरमा काम भइरहेको छ । कुश्मीशेरा, देवलधारा १० किमी खण्डको स्तरोन्नति तथा कालोपत्रेको काम म्याद सकिँदासम्म ३५ प्रतिशत सकिएको छ । म्याद थप भएकाले यो खण्ड र देवलधारादेखि नम्दुक हुँदै चित्रे खण्ड तयार हुँदा बरेङलाई सहज हुने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।

‘हामीले काममा आउने बाधामा सहजीकरण गरिरहेका छौँ, समयमा काम थाल्न र समयमा सक्न भनेका छौँ,’ उनले भने, ‘यो बरेङका लागि अत्यावश्क सडक हो ।’

सडक फराकिलो र कालोपत्र हुँदा बरेङको आर्थिक विकासमा सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ । प्रदेश सरकारको योजना भए पनि गाउँपालिकाले सडकको काममा चासो दिएको छ । गाउँपालिकाकै स्रोतमा बरेङ बजारमा गत आर्थिक वर्षमा कालोपत्र भएको सडकबाहेक यो सडकनै बरेङको पहिलो कालोपत्र सडक हुनेछ ।

चित्रेदेखि पालिका मुकाम रहेको सुदाला र पालिका मुकामदेखि छिमेकी जिल्ला गुल्मीको शान्तिपुरसम्मको सडक कालोपत्रका लागि समेत पहल भइरहेको छ । गत आर्थिक वर्षमा पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट गाउँपालिकाले पालिका मुकामदेखि शान्तिपुर सडकको केही खण्ड फराकिलो बनाएको थियो ।


क्लिकमान्डु