नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकले मर्जरका लागि समय थप्न पत्र पठाए



काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको समयमा मर्जरको निर्णय गर्न नसकेपछि नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले समय थप्न माग गर्दै नेपाल राष्ट्र बैंकमा पत्र पठाएका छन् ।

राष्ट्र बैंकले मर्जरको बारेमा निर्णय गर्नको लागि दुवै बैंकलाई आइतबारसम्मको समय दिएको थियो । नेपाल राष्ट्र बैंकले दिएको समयभित्र एकीकृत कारोबार हुन नसकेपछि मर्जर निर्णय गर्न साधारणसभा बोलाउनुपर्ने थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश पारित गर्नको लागि साधारणसभा बोलाइसकेको छ । हिमालयन बैंकले भने मर्जरको विषयमा निर्णय गर्न नसक्दा साधारणसभा समेत बोलाउन सकेको छैन ।

हिमालयन बैंकको वार्षिक प्रतिवेदन स्वीकृत गर्दा नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने शर्त राखेको छ । जसको कारण हिमालयन बैंकले सेयरधनीलाई लाभांश खुवाउन समेत समस्या हुन्छ ।

हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ मर्जरको विपक्षमा छन् ।

उनले नेपाल इन्भेष्टमेन्टले ल्याएको एफपीओमा महालेखा परीक्षकले बेरुजी लेखेको लगायतका विषय राखेर इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जान नहुने धारणा राखेका छन् ।

मर्जर नगर्दा राष्ट्र बैंकले हिमालयन बैंकलाई कारवाही गर्नेछ । दुबै बैंकको मर्जर कमिटिले आइतबार मर्जरमा केही अन्योलता भएको हुँदा त्यसलाई सहजिकरण गर्ने प्रक्रिया अगाडि बढेको भन्दै समय थप्न पत्र लेखेका छन् । संख्या घटाउने नीतिमा रहेको केन्द्रीय बैंकले समय भने थप्ने आशा दुबै बैंकका अधिकारीको छ ।


क्लिकमान्डु