चिया, अलैंची र अदुवा निर्यात घट्यो



काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ४ महिनामा चिया, नगदेबाली अलैंची र अदुवाको निर्यात घटेको छ ।


व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कअनुसार नेपालमा उत्पादित मुख्य चिया, अलैंची र अदुवाको निर्यात घटेको देखाएको छ ।

गत वर्ष साउनदेखि कात्तिकसम्ममा नेपालबाट २ अर्ब ३३ करोड ४ लाख रुपैयाँ बराबरको ७४ लाख १० हजार केजी निर्यात गरेको थियो । चालु आवको सोही अवधिमा नेपालले १ अर्ब २३ करोड ११ लाख रुपैयाँ बराबरको ४३ लाख ५२ हजार ७ सय केजी निर्यात गरेको केन्द्रको तथ्याङ्कले देखाउँदछ । गत वर्ष तुलनामा चालु आवमा ४७.१७ प्रतिशतले निर्यात घटेको देखिन्छ ।

चियाको उत्पादन तथा प्रशोधन गर्ने मौसम अनुसार हुने गर्दछ । मौसम अनुसार प्रशोधन भई दैनिक रुपमै निर्यात हुने गर्दछ । तर, यो वर्ष भने निर्यातमा ह्रास आउनुको मुख्य कारण ढुवानी रहेको राष्ट्रिय चिया तथा कफि विकास बोर्डका प्रवक्ता दिपक खनाल बताउँछन् ।

उनकाअनुसार कोभिडपश्चात निर्यात हुँदै आएको चियामा सामान्य अवस्थाको तुलनामा करिब ३० प्रतिशतले ढुवानी खर्च बढेको छ । जसले गर्दा व्यवसायीहरूको खर्चसमेत नउठ्ने हुँदा चिया निर्यातमा निकै समस्या उत्पन्न भएको छ । त्यस्तै, अहिले भारतीय सरकारले नेपाली चियाको गुणस्तरमा प्रश्न उठाउँदै भन्सारमै रोकेको हुनाले त्यसको पनि प्रभाव परेको उनको भनाइ छ ।

नेपालमा चिया उद्योगबाट करिब ७० हजार जनसंख्यालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ । साथै, नेपाली चिया भारत, चीन, जापान, जर्मनी, पाकिस्तान, बंगलादेश, अमेरिका, क्यानाडा, अष्ट्रेलियालगायत मुलुकमा निर्यात गर्दै आएको छ ।

त्यसैगरी, निर्यातमध्ये सबैभन्दा बढी निर्यात हुँदै आएका वस्तु हो अलैंची । चालु आवको ४ महिनाको अवधिमा अलैंचीको निर्यात २१ प्रतिशतले घटेको छ । चालु आवको ४ महिनाको अवधिमा नेपालले १ अर्ब ६० करोड ६० लाख रुपैयाँ बराबरको १८ लाख ९६ हजार ६५० केजी अलैंची निर्यात गरेको छ । सोही अवधिमा गत वर्ष नेपालले २ अर्ब ३ करोड ४५ लाख रुपैयाँ बराबरको अलैंची निर्यात गरेको थियो ।

नेपाल अलैंची व्यवसायी संघका अध्यक्ष राज कुमार कार्कीले अहिलेको समयमा निर्यात सँधै घट्ने बताए । उनकाअनुसार अहिले भारतमा अलैंची उत्पादन गर्ने सिजन भएकाले नेपालको अलैंचीको माग आएको छैन ।

‘हरेक वर्ष यो सिजनामा नेपाल र भारतमा एकै पटक अलैंचीको उत्पादन हुने गर्दछ । अहिले किसानहरूबाट अलैंची उठाउने समय भएकाले निर्यात घट्नु स्वाभाविक हो,’ उनले भने ।

अब केही महिनापछि भने अलैंचीको माग बढ्ने उनको भनाइ छ । साथै, यो वर्ष अलैंचीको मूल्यवृद्धि भएकाले पनि निर्यातमा ह्रास आएको उनले बताए ।
नेपालको अलैंची भारत, चीन, युएई, कतार निर्यात हुने गर्दछ । त्यसमध्ये सबैभन्दा बढी नेपाली अलैंचीको बजार भारत रहेको रहेको छ ।

नेपालका ४० भन्दा बढी जिल्लाहरूमा उत्पादन हुने अलैंची निर्यातमा सोयाबिन तेलपछि सबैभन्दा बढी निर्यात हुँदै आएको छ । नेपालको लमजुङ जिल्लामा उत्पादन भएको अलैंचीलाई विश्वकै उत्कृष्ट अलैंचीको रुपमा लिइन्छ । साथै, ५ हजार ६ सयभन्दा बढी हेक्टरमा उत्पादन गर्दै आएको अलैंचीलाई विश्वकै उत्कृष्ट मानिने केन्द्रले जनाएको छ । नेपालमा वार्षिक ६ हजार ५ सय मेट्रिक टन अलैंची उत्पादन हुने गर्दछ ।

नेपालबाट अदुवा पनि उल्लेख्य रुपमा निर्यात हुँदै आएको छ । तर, यो वर्ष अदुवाको निर्यातसमेत घटेको छ । नेपालले ४ महिनाको अवधिम १५ करोड ४५ लाख रुपैयाँ बराबरको ३८ लाख १८ हजार केजी अदुवा निर्यात गरेको तथ्याङ्कले उल्लेख गरेको छ । त्यस्तै, सोही अवधिमा गत वर्ष २१ करोड ९९ करोड रुपैयाँ बराबरको ३९ ला ५० हजार ७ सय केजी अदुवा निर्यात गरेको थियो । जसमा गत वर्षको तुलनामा चालु आवमा २९.७४ प्रतिशतले निर्यात घटेको छ ।
नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्र कुमार खड्काले पछिल्लो समयमा भारततर्फ अदुवा थोरै मात्रा निर्यात हुँदै आएको बताए । विगतको दिनमा उल्लेख्य रुपमा भारततर्फ निर्यात भएपनि पछिल्लो समय भारतको कर्नाटकमा पर्याप्त मात्रामा अदुवा उत्पादन हुन थालेपछि नेपालबाट कम अदुवा निर्यात हुँदै आएको जिकिर गरे ।

साथै, पछिल्लो समय नेपालमा भारतीय अदुवाको हाबी भएकाले निर्यात कम र आन्तरिक बजारमासमेत कम खपत हुँदै गएको उनको भनाइ छ ।


क्लिकमान्डु