सुन तस्करी बढ्यो, ४ दिनमा ५८ किलो सुन नियन्त्रणमा



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विभिन्न मुलुकबाट नेपाल फर्किएका यात्रुबाट ४ दिनमा ५७.८ किलो सुन नियन्त्रणमा लिएको छ ।

विदेशबाट नेपाल फर्कने यात्रुहरुले काँचो सुनलाई बाला, बेरुवा औंठी तथा साङ्लीको स्वरुप दिएर ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो ।

यस अवधिमा नियम विपरीत १ हजार १ सय ९६ जनाले ल्याएको ५७.८ किजी सुन भन्सार कार्यालयले विमानस्थलबाट नियन्त्रणमा लिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए । यो तथ्यांक मंसिर १३ देखि १६ गतेसम्मको हो ।

भट्टराईका अनुसार ४ दिनको अवधिमा ९ सय ९६ जनाले ४०.८ केजी सुन राजश्व भुक्तानी गरेर निकासा गरिसकेका छन् । अब बाँकी १७ केजी सुनको राजस्व महसुल भुक्तानी भएको छैन् ।

‘सबैभन्दा बढी दुवईबाट आउने यात्रुले सुन ल्याउने गरेका छन् । त्यहाँबाट आउँने अधिकांशले सुनको बाला बनाएर ल्याउने गरेको पाइएको छ,’ उनले भने । बरामद भएको मध्ये ९९६ जना यात्रुले राजस्व भुक्तानी गरेर ४०.८ केजी सुन लगेका छन् ।

विदेशबाट फर्कनेहरुले अस्वभाविक रुपमा सुन भित्र्याउन थालेपछि भन्सार विभागले मंसिर १३ गतेदेखि कडाइ गर्न थालेको थियो । भट्टराईका अनुुसार १३ गते विमानस्थल भन्सार कार्यालयले ४१५ जनाबाट २० केजी ७५ ग्राम सुन नियन्त्रण गरेको थियो ।

त्यस्तै १४ गते २४४ जना यात्रुबाट १२ केजी २० ग्राम, १५ गते ३२६ जना यात्रुबाट १५ केजी १६५ ग्राम र हिजो (बिहीबार) १६ गते २११ जना यात्रुबाट ९ केजी ७७४ ग्राम सुन नियन्त्रण गरिएको थियो ।

४ दिनमा ३ करोड ९४ लाख राजस्व संकलन

विमानस्थल भन्सार कार्यालयका अनुसार ५७.८ केजी सुनमध्येको ४०.८ केजी सुन भन्सारमहसुल तिरेर भन्सार पास गरेका छन् । उक्त सुनबापत ३ करोड ९४ लाख रुपैयाँ राजश्व संकलन भएको छ । भट्टराईका अनुसार ४ दिनको अवधिमा नियन्त्रणमा लिइएको सुनमध्येको ४० केजी ८ ग्रामक सुनबापत उक्त रकम संकलन भएको छ ।

पहिलो दिन १८८ जना यात्रुले ९ केजी ३३३ सुनको ८९ लाख ९१ हजार रुपैयाँ भन्सार महसुल तिरेर सुन लगेका छन् । त्यसैगरी मंसिर १४ गते १५७ जान यात्रुले ६ केजी ९८२ ग्राम सुनको ६७ लाख ३० हजार रुपैयाँ, १५ गते ४१० जनाले १३ केजी १८० ग्राम र १६ गते २४१ जना यात्रुले ११ केजी ४०३ ग्राम सुनको भन्सार महसुल तिरेका छन् ।

तोकिएभन्दा बढी सुन ल्याए जफत गरिने

कानूनी व्यवस्था अनुसार व्यक्तिगत प्रयोजनका लागि ल्याइने ५० ग्रामसम्मका सुनका गरगहनाहरुमा भन्सार लाग्दैन । त्यस्तै ५०० ग्राम चाँदीका गरगहनाहरुमा पनि भन्सार नलाग्ने व्यवस्था छ । तर, व्यक्तिगत प्रयोगनका लागि भन्दै कसैले विदेशबाट आफ्नो साथमा ल्याएको १०० ग्रामसम्म सुनमा भन्सार लाग्ने छ ।

कति ग्राम सुनमा कति भन्सार शुल्क लाग्छ ?

मालबस्तु निकासी तथा पैठारी सम्बन्धी व्यवस्था अनुसार १०० ग्रामसम्म सुन ल्याउँने यात्रुलाई पहिलो ५० ग्रामसम्म प्रति १० ग्राममा ९ हजार ५०० रुपैयाँ भन्सार शुल्क लाग्ने छ । त्यसैगरी ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्म प्रति १० ग्राम १० हजार ५०० रुपैयाँ भन्सार महसुल लाग्ने छ ।

विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको सुनको गहनाको हकमा ५० ग्रामभन्दा बढी थप १०० ग्रामसम्म ल्याएमा त्यस्तै गहनामा ५० ग्रामसम्म प्रति १० ग्राम १० हजार ५०० रुपैयाँ र थप १०० ग्रामसम्म सुनका गहनामा प्रति १० ग्राम १२ हजार रुपैयाँ भन्सार महसुल तिरेर जाँचपास गर्ने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु