३६ माइक्रोफाइनान्सले घोषणा गरे लाभांश, कुनको कति ?



काठमाडौं । सञ्चालनमा रहेका ५६ वटा माइक्रोफाइनान्स कम्पनीमध्ये अहिलेसम्म तीन दर्जन कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् । बाँकी कम्पनीले भने लाभांश घोषणा गर्ने क्रममा रहेका छन् ।

अहिलेसम्म लाभांश घोषणा गरेका कम्पनीमा सबैभन्दा बढी लाभांश दिनेमा महिला लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाले ५० प्रतिशत लाभांश दिने भएको छ । जसमा ४७.५ प्रतिशत बोनस र २.५ प्रतिशत नगदसहित ५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

महिलापछि लाभांश दिनेमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था छ । संस्थाले ४५ प्रतिशत लाभांश दिने भएको छ । जसमा ४० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश रहेको छ ।

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले ३४ प्रतिशत लाभांश दिने भएको छ । जसमा बोनस ३२.३ र नगद १.७ सहित ३४ प्रतिशत लाभांश दिने भएको हो ।

यस्तै सबैको लघुवित्तले ३२.६८, सपोर्ट लघुवित्तले ३१.५८, निर्धन उत्थान लघुवित्तले ३१.०५, छिमेक लघुवित्त र उन्नति सहकार्य लघुवित्तले ३० प्रतिशत लाभांश दिने भएका छन् । उन्नतिले नगद नदिइ बोनस मात्रै दिने भएको छ ।

लाभांश घोषणा गरेका कम्पनीमा २१ वटा कम्पनीको लाभांश २० देखि ३० प्रतिशतको बीचमा रहेको छ । २० प्रतिशत भन्दा कम १० प्रतिशतसम्म ५ वटा कम्पनीको लाभांश रहेको छ भने सबैभन्दा कम लाभांश एआईसी एसिया लघुवित्तको रहेको छ । संस्थाले नगद मात्रै ५.४१ प्रतिशत नगद लाभांश दिने भएको छ । नगद लाभांश दिने यो कम्पनी मात्रै हो । अधिकांश कम्पनीले नगद र बोनस सेयर दिने भएका छन् । तर केही कम्पनीले भने नगद लाभांश नदिइ बोनस सेयर मात्रै दिने प्रस्ताव गरेका छन् ।

नगद लाभांश नदिने कम्पनीमा उन्नती सहकार्य लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, माहुली सामूदायिक लघुवित्त, स्वरोजगार लघुवित्त, मिर्मिरे लघुवित्त, वमी लघुवित्त, सुर्योदय लघुवित्त, मनकामना र कालिका लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीले नगद लाभांश दिने भएका छन् ।


क्लिकमान्डु