कतार टोलीसँग श्रममन्त्रीको वार्ता शुरु, यस्तो छ मुख्य एजेण्डा



काठमाडौं । नेपाल कतार संयुक्त समितिको चौथो बैठकका लागि नेपाल आएका कतारको उच्चस्तरीय टोलीसँग श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको टोलीसँग वार्ता शुरु भएको छ ।

बिहीबार नेपाल प्रस्थान भएका कतारका उच्चस्तरीय टोलीसँग आज श्रम मन्त्रीले वार्ता गर्ने भएको हो ।

कतारका श्रम मन्त्रालयका सचिव महमद हसन अल लवाद्ली नेतृत्वको टोलीसँगको भेटवार्तामा द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल गर्ने भएको छ ।

कतार टोलीसँग श्रममन्त्रीले मुख्य एजेण्डाको रुपमा श्रम सम्झौतालाई राखेको छ । श्रममन्त्रीले घरेलु कामदार भर्तीसम्बन्धी छलफल गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, कतारलाई आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि कतार सरकारसँग सहकार्य गर्ने र कृषि क्षेत्रमा पनि कामदार लैजान सहकार्य गर्ने विषयमा छलफल हुने भएको छ ।

श्रम मन्त्रीले कतारबाट फर्किएका कामदारलाई प्राथमिकतामा राखेर पुनः एकीकरणमा समेत सहकार्य गर्ने भएको छ । त्यस्तै, कतार सरकारले प्रदान गर्दै आएको कतार भिसा केन्द्रको सेवा प्रदेश स्तरमै विस्तार गर्ने र कोभिड–१९ ले नेपाली कामदारलाई कतारमा कस्तो प्रभाव पर्यो भन्ने मुख्य एजेण्डाका साथ छलफल गर्ने भएको हो ।


क्लिकमान्डु