कोभिड प्रभावले आन्तरिकतर्फ भ्याटको लक्ष्य पूरा भएन



काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ४ महिनामा कुल राजस्व संकलनदर बढेको भएपनि आन्तरिकतर्फको भ्याटमा भने लक्ष्य पूरा हुन सकेन ।

अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षको ४ महिनामा शिक्षा सेवा शुल्क, भन्सार महसुल अन्तर्गतको पूर्वाधार, कृषि सुधार शुल्क र सडक निर्माण तथा सम्भार, मूल्य अभिवृद्धि कर अन्तर्गतको उत्पादन, बिक्री तथा सेवा, अन्तःशुल्क अन्तर्गतको पैठारी र आयकर अन्तर्गतको ब्याजकर शीर्षकमा राजस्व संकलनको लक्ष्य पूरा हुन नसकेको हो ।

चालु आर्थिक वर्षको ४ महिनामा शिक्षा सेवा शुल्कमा भने लक्ष्यभन्दा आधा मात्र राजस्व संकलन भएको छ । मन्त्रालयले लक्ष्य ३६ करोड ३८ लाख रुपैयाँको राखेको भएपनि १७ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

अध्ययनका लागि विदेश जाने विद्यार्थी कोभिडका कारण रोकिएकाले यो क्षेत्रमा लक्ष्य अनुरुप राजस्व संकलन नभएको हो ।

त्यस्तै मूल्य अभिवृद्धि करतर्फको उत्पादन, विक्री तथा सेवा शीर्षकबाट ४० अर्ब ८९ करोड १२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो ।

तर, यो शीर्षकमा लक्ष्यभन्दा ५ अर्ब रुपैयाँ कम राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षको ४ महिनामा उक्त शीर्षकमा ३५ अर्ब ८८ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यसैगरी आर्थिक वर्षको ४ महिनामा अन्तःशुलक अन्तर्गतको पैठारी शीर्षकमा २६ अर्ब ५३ करोड ५२ लाख लक्ष्य राखिएकोमा २४ अर्ब ९६ करोड ९१ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

आयकर अन्तर्गतको ब्याजकरबापत १४ अर्ब ३१ करोड ७२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रखिएको भएपनि यस शीर्षकवापत १० अर्ब १ करोड ९० लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै भन्सारमहसुलतर्फको पूर्वाधार करमार्फत् ७ अर्ब ८८ करोड २६ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । तर, यो शीर्षकमा ६ अर्ब ७९ करोड २८ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको छ ।

कृषि सुधार शुल्क शीर्षकमा लक्ष्य ३ अर्ब २० करोड ४७ लाख लक्ष्य राखेकोमा २ अर्ब ८३ करोड ५० लाख रुपैयाँ राजस्व संकलन भएको छ । त्यसैगरी सडक निर्माण तथा सम्भार र सडक मर्मत तथा सुधारवापत प्राप्त हुने राजस्वमा पनि लक्ष्य पूरा भएको छैन ।

यसरी आन्तरिकतर्फको भ्याटमा राजस्व संकलनको लक्ष्य पूरा नहुनुमा कोभिडको प्रभावलाई मुख्य रुपमा लिइएको छ ।

कोभिडको प्रकोपले गर्दा चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा अध्ययनका लागि विद्यार्थी विदेश जान नपाउनु, पर्यटन क्षेत्रबाट उठ्नु पर्ने कर नउठ्नुले समग्र आन्तरिकतर्फको भ्याटमा लक्ष्य पूरा नभएको आन्तरिक राजस्व विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेलले बताए ।

‘पर्यटक आगमन चालु आर्थिक वर्षको ४ महिनामा कम छ । पर्यटन क्षेत्रबाट करबापत आउँने पैसा पनि त्यति आएन । कोभिडले थला परेका उत्पादमुलक क्षेत्रमा पनि सामान उत्पादन त्यति धेरै भएर होला, यो क्षेत्रमा पनि लक्ष्यअनुसार राजस्व संकलन भएन,’ उनले भने ।

त्यस्तै सेवा क्षेत्रबाट कर कम आउँदा पनि आन्तरिकतर्फको भ्याटमा असर पर्न गएको अनुमान प्याकुरेलले गरे । ‘विदेश पढ्न जाने विद्यार्थीहरुबाट आउँने २ प्रतिशत रकम पनि नआएको हो कि भन्ने अनुमान पनि गर्न सकिन्छ । यही कारणले आन्तरिकतर्फको भ्याटमा राजस्व संकलन कम भयो भन्ने स्थिति अहिले छैन्,’ उनले भने ।

कुल राजस्व संकलन बढ्नुमा आयात वृद्धिलाई लिइएको छ । आयातमा आधारित भन्सार भएकाले पछिल्लो समय आयातसँगै राजस्व संकलनमा पनि वृद्धि भएको बताइएको छ । चालु आर्थिक वर्षको ४ महिनामा कुल राजस्व संकलन १० अर्ब रुपैयाँले वृद्धि भएको छ ।

सरकारले चालु आर्थिक वर्षको ४ महिनामा ३ खर्ब २४ अर्ब ५७ करोड २५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, कुल राजस्व संकलन भने लक्ष्यभन्दा बढी ३ खर्ब ३४ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ भएको छ ।


क्लिकमान्डु