योजना आयोगका उपाध्यक्षको प्रश्नः सेयर बजारमा मिस यूज वा इन्साइडर ट्रेडिङ भए के गर्ने ?



काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले सेयर बजारबारे चासो व्यक्त गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहमा पौडेलले सेयर बजारमा मिस यूज भयो वा इन्साइडर ट्रेडिङ भयो भने के हुने भन्दै प्रश्न गरेका छन् ।

‘४० खर्बको बजार पुँजीकरण भएको क्षेत्रमा मिस यूज, इन्साइडर ट्रेडिङ भयो भने के गर्ने’ उनले भने ‘ त्यसको जरिवाना कसले कसरी गर्ने हो ? त्यहाँ मान्छेको विश्वास भएन भने के हुन्छ ? यस्ता कुराले हाम्रो अर्थ व्यवस्था कहाँ जान्छ त्यसको अब ध्यान दिन जरुरी छ ।’

कुनै पनि क्षेत्रमा गलत प्रयोग हुन नहुने भन्दै उपाध्यक्ष डा. पौडेलले हरेक क्षेत्रमा विश्वास हुने गरी काम हुन आवश्यक भएको बताए ।

उनले नेपालमा अब लाइसेन्स राजको अन्त्य हुनेपर्ने बताए । देश विकासका लागि लाइसेन्स राजको अन्त्य आवश्यक रहेको बताए ।

उनले सार्वजनिक खरिद ऐनमा भएका केही समस्याका कारण देशमा विकास हुन नसकेको भन्दै यसमा पारदर्शिता आवश्यक रहेको बताए । उनले अबको दिनमा विकास निर्माणका काम गर्दा योजना छनोटमा ध्यान दिन आग्रह गरेका छन् ।

देश विकास गर्ने आधार सार्वजनिक सम्पतिको जगेर्ना आवश्यक रहेको भन्दै यसमा रणनीतिक रुपमा काम गर्न आवश्यक रहेको तर्क गरे ।

कार्यक्रममा उपाध्यक्ष डा. पौडेलले बैंकिङ क्षेत्रले ब्याजदर मनलाग्दी रुपमा निर्धारण गर्दा उद्योगीलाई समस्या हुने भन्दै यसमा पनि ध्यान दिन आवश्यक रहेको बताए ।

‘ब्याजदर मनलाग्दी गर्दा व्यवसायीलाई समस्या हुन्छ,’ उनले भने, ‘यस विषयमा पनि ध्यान दिनु आवश्यक छ,’ उनले भने ।

देशमा पुँजीगत खर्च नहुने पुरानै समस्या भएको भन्दै यसलाई परिवर्तन तत्काल गर्न नसकिने भन्दै यसलाई ध्यान दिएर अघि बढ्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् ।


क्लिकमान्डु