रेल सञ्चालन गर्न छिट्टै अध्यादेश ल्याउँदै छौं: मन्त्री यादव




काठमाडौं । लामो समयदेखि कानुन पारित नहुँदा रेल सञ्चालन हुन नसकेको भन्दै विरोध हुदा थालेपछि सरकारले अध्यादेश ल्याउने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अध्यादेश ल्याएर भए पनि रेल सञ्चालन गर्ने तयारी गरिरहेको छ । मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले अध्यादेश ल्याउने तयारी भइरहेको बताए

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले पनि मंसिर १३ गते जनकपुरस्थित रेल्वे स्टेशनको अनुगमनका क्रममा ल्याउन लागेको बताएकी थिइन ।

सरकारले रेल संचालनमा चासो नदेखाएपछि धनुषाका स्थानीय आन्दोलन गरिरहेका छन् ।

सोही आन्दोलनलाई सम्बोधन गर्न पुगेकी मन्त्री यादवले अध्यादेश तयार भएको र काठमाडौं पुगेपछि हस्ताक्षर गर्ने बताएकी थिइन ।

‘रेल संचालनका लागि आवश्यक पर्ने सम्पूणर् कानुनी प्रक्रिया छिट्टै पूरा हुदै छन्,’ मन्त्रीले भनिन्, ‘यो आर्थिक वर्षभित्र बजेट र कर्मचारी अभाव हुदैन ।’

१४ महिनाअघि भारत सरकारसँग ८४ करोड ६५ लाख ९४ हजारमा खरिद गरेको रेल इनरुवा स्टेसनमा थन्किएको छ ।

रेल संचालनका लागि नेपाल सरकारले कोंकण कम्पनीसँग ३५ करोडको सम्झौता गरेको थियो । तर, त्यसका लागि आवश्यक कानुन नबन्दा उक्त रेल संचालन हुन सकेको छैन् ।


जनकपुर-जयनगर गुड्ने रेलको वारेन्टी म्याद १ वर्षमात्रै रहेकोमा असोज ३ गते सकिसकेको छ ।


निर्माता कम्पनीले रेलको इन्जिन र बोगीको वारेन्टी १ वर्ष दिएको थियो । आवश्यक तयारीविनै भित्र्र्याइएको उक्त रेल हाल सशस्त्र प्रहरीको निगरानीमा त्रिपालले छोपेर राखिएको छ ।


क्लिकमान्डु