विदेशबाट फर्कनेले बढी सुन ल्याएपछि भन्सार विभाग एक्सनमा, बढी सामान ल्याए जफत हुने



काठमाडौं । विदेशबाट नेपाल आउने यात्रुले तोकिएभन्दा बढी सामान ल्याए कानूनी व्यवस्था अनुसार जफत गरिने चेतावनी दिइएको छ ।

पछिल्लो समय त्रिभुवन विमानस्थल हुँदै विदेशबाट नेपाल आउने नेपाली यात्रुहरुले प्रचलित कानून अनुसारभन्दा बढी मात्रामा सुन, मोबाइल फोन, ल्यापटप तथा मदिराजन्य पदार्थहरु ल्याउन थालेको भन्दै भन्सार विभागले त्यसतर्फ यात्रुलाई सजग हुन आग्रह गरेको हो ।

अपरिचित व्यक्तिले ललाई–फकाई आफन्तलाई ल्यापटप, मोबाइल फोन र सुनका गरगहना कानूनी व्यवस्थालाई मिचेर बढी पठाएको विवरण खुलेको भन्दै विभागले तोकिएभन्दा बढी सामान नल्याउन यात्रुलाई सजग गराएको हो ।

विभागका अनुसार त्यसरी नियम विपरीत सामान ल्याउनेहरुलाई कारबाही गर्दा यात्रुहरुले प्रचलित कानूनी व्यवस्थाको प्रर्याप्त जानकारी नभएको एवम् अपरिचित व्यक्तिले ललाई–फकाई त्यस्ता सामग्री पठाउने गरेको भनी बयान दिने गरेका छन् ।

पछिल्लो समय विदेशबाट एउटा सामान भनी अन्य अवैध वस्तु राखेको फेला परेकोले पनि विदेशबाट नेपाल फर्कने यात्रुले आफूले नचिनेकाहरुको सामान विश्वास गरेर नल्याउन भनिएको छ ।

अरुले पार्सलको रुपमा पठाइदिएका टर्चलाइट, आइरन, मिक्चर, रेडियो, स्पिकर, पानी तान्ने मोटर आदि सामग्रीमा लुकाईछिपाई सुन, चाँदी वा अन्य अवैध वस्तु राखिएको फेला परेको विभागको भनाइ छ ।

कुन सामान कति ल्याउन पाइन्छ ?
भन्सार ऐन, २०६४ मा व्यवस्था गरिएको यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेशअनुसार व्यक्तिगत प्रयोगको सुनको गहना ५० ग्रामसम्म ल्याउन पाइनेछ ।

व्यक्तिगत प्रयोगका लागि ट्याबलेट वा ल्यापटप, मोबाईल फोन र मदिरा १ लिटरसम्मको बोतल एक–एक थान मात्र ल्याए भन्सार लाग्दैन ।
यदि मोबाईल फोन, ल्यापटप वा ट्याबलेट १ थानभन्दा बढी ल्याएमा भन्सार महशुल लाग्ने छ । तर, मदिरा १ लिटरको १ बोतलभन्दा बढी भए जफत गरिने विभागले जनाएको छ ।

तोकिएभन्दा बढी सुन ल्याए जफत गरिने
कानूनी व्यवस्था अनुसार व्यक्तिगत प्रयोजनका लागि ल्याइने ५० ग्रामसम्मका सुनका गरगहनाहरुमा भन्सार लाग्दैन । त्यस्तै ५०० ग्राम चाँदीका गरगहनाहरुमा पनि भन्सार नलाग्ने व्यवस्था छ । तर, व्यक्तिगत प्रयोगनका लागि भन्दै कसैले विदेशबाट आफ्नो साथमा ल्याएको १०० ग्रामसम्म सुनमा भन्सार लाग्ने छ ।

कति ग्राम सुनमा कति भन्सार शूल्क लाग्छ ?
मालबस्तु निकासी तथा पैठारी सम्बन्धी व्यवस्था अनुसार १०० ग्रामसम्म सुन ल्याउने यात्रुलाई पहिलो ५० ग्रामसम्म प्रति १० ग्राममा ९ हजार ५०० रुपैयाँ भन्सार शूल्क लाग्ने छ । त्यसैगरी ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्म प्रति १० ग्राम १० हजार ५०० रुपैयाँ भन्सार महसुल लाग्ने छ ।

विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको सुनको गहनाको हकमा ५० ग्रामभन्दा बढी थप १०० ग्रामसम्म ल्याएमा त्यस्तै गहनामा ५० ग्रामसम्म प्रति १० ग्राम १० हजार ५०० रुपैयाँ र थप १०० ग्रामसम्म सुनका गहनामा प्रति १० ग्राम १२ हजार रुपैयाँ भन्सार महसुल तिरेर जाँचपास गर्ने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु