मौद्रिक सर्वेक्षणमा सञ्चय कोष र नागरिक लगानी कोषको कारोबार समेटिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले गैरबैंकिङ कारोबार गर्ने निकायको वित्तीय अवस्थालाई मौद्रिक सर्वेक्षणमा समावेश गर्ने भएको छ । त्यसका लागि राष्ट्र बैंकले आवश्यक प्रकृया अघि बढाएको छ ।


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषलगायतलाई ऐनले दिएको खण्डमा सर्वेक्षणमा सहभागी गराउने बताए ।

उनले यसका लागि विभागनै गठन गरेर राष्ट्र बैंकले यो कामलाई पूर्णता दिन लागेको हो ।

‘यो नन बैंकिङ सुपरभिजन हो’ राष्ट्र बैंकका सह-प्रवक्ता नारायण प्रसाद पोखरेलले भने ‘केन्द्रीय बैंकले निकाल्ने मौद्रिक सर्वेक्षण निकाल्दा अहिले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई मात्रै हेर्ने गरेको थियो । त्यो भन्दा ठूलो धनरासी भएका नन बैंकिङ क्षेत्र रहेको र त्यो कुरा उक्त सर्वेमा आयो भने राष्ट्र बैंकले ल्याउने नीतिहरु बढी भन्दा बढी यथार्थपरक हुने छन्,’ सहायक प्रवक्ता पोखरेलले भने ।

यसले आगामी दिनमा बन्ने मौद्रिक नीतिको लक्ष्य पुरा हुने उनको भनाई छ ।

यसको लागि आवश्यक ऐन पनि राष्ट्र बैंकले आवश्यकता अनुसार संशोधन तथा थप्दै जाने तयारीमा जुटेको छ । ‘अहिले नै हामीलाई यसको म्यान्डेड नदिएपनि हामीले आवश्यक देखेर ति संस्थाहरुको वित्तीय व्यवस्थालाई मौद्रिक सर्वेक्षणमा राख्न केही गाह्रो पदैन’ पोखरेलले भने ।

पोखरेलका अनुसार यसअघि यस्तो खाले व्यवस्था राष्ट्र बैंकबाट भएको थिएन । यो पहिलो हो । यसमा अहिले नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष लगायतका संस्थाहरु समावेश हुने भएका छन् ।

राष्ट्र बैंकले विभागीय संरचना परिवर्तन गर्दा ओएनएम सर्भे गर्नुपर्ने हुन्छ । त्यसपछि यो काम प्रभावकारी रुपले अघि बढ्ने छ ।


क्लिकमान्डु