२४ घण्टामा कति कमाउँछन् यी भारतीय व्यापारीले ?



एजेन्सी । अर्बपतिहरु जन्माउने देशका रुपमा पछिल्ला दिनमा भारत समेत अगाडि आएको छ । बढ्दो औद्योगिकीकरण तथा व्यवसायमा भएको विस्तारका कारण अर्बपतिहरुको संख्यामा वृद्धि भएको हो ।

भारतमा अर्बपति भनेर खासमा मुकेश अम्बानीलाई चिनिन्छ । रिलायन्स समूहका उनी विगतदेखि नै भारतीयका लागि अर्बपतिको रुपमा चिनिएका हुन् । त्यो पनि भारुमा होइन , डलर अर्बपतिका रुपमा उनको स्थान बन्दै आएको छ ।

पछिल्ला दिनमा जब नरेन्द्र मोदी भारतमा प्रधानमन्त्रीका रुपमा उदाए । उनै मोदीको शक्ति र प्रभावका आधारमा गौतम अडानीले पनि आफुलाई अर्बपतिको सूचीमा उभ्याएका छन् । उनीमाथि राज्यशक्तिको दुरुपयोग गरेको तथा मोदीको दौराको फेर समाएर सार्वजनिक सम्पत्ति हत्याएको आरोप पनि लाग्ने गरेको छ ।

खासमा भारतीय व्यापारीले दैनिक रुपमा के कति कमाउँछन् भन्ने कोणबाट पनि उनीहरुको आम्दानीको हिसाब गर्न खोजिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार पछिल्ला केही दिनदेखि अम्बानी र अडानीको सम्पत्ति बराबर भएको छ । यही सन्दर्भमा उनीहरुले दैनिक कति रकम कमाउँछन् भन्ने बारेमा जानकारी दिन खोजिएको हो ।

विवरण अनुसार गौतम अडानी र उनको परिवारले दैनिक १००२ करोड भारु बराबरको आम्दानी गर्छन् । विभिन्न ७ वटा विमानस्थलको व्यवस्थापनदेखि अन्य उद्योग व्यवसायमा समेत जोडिएको अडानी समूहको कमाई अन्य व्यापारीको तुलनामा बढी रहेको छ ।

सन् २०२० को सेप्टेम्बरको विवरणका आधारमा उक्त विवरण तयार पारिएको हो । यस्तै, लक्ष्मी मित्तल र उनको परिवारले दैनिक ३१२ करोड मात्रै कमाई गर्छन् । अडानीको तुलनामा मित्तल परिवारको कमाई दैनिक रुपमा कम देखिन्छ ।

यस्तै शिव नादर र परिवारको कमाई २६० करोड रहेको छ ।

विनोद अदानी र परिवारको २४५ करोड, कुमार बिरला र परिवारको २४२ करोड, एसपी हिन्दुजा र परिवारको २०९ करोड, साइरस पुनावाला र परिवारको १९० करोड, राधाकिशन दमानी र परिवारको दैनिक १८४ करोड बराबरको कमाई हुने गरेको छ ।

यस्तै, मुकेश अम्बानी र परिवारले १६३ करोड कमाउँदा जय चौधरी र उनको परिवारले दैनिक १५३ करोड भारु बराबरको कमाई गर्ने भास्कर दैनिकले जनाएको छ ।


क्लिकमान्डु